|

काठमाडौं : नेपालमा व्यावसायिक फोटोग्राफीको सुरुवात गर्ने डम्बरबहादुर (डीबी) थापाको भौतिक शरीर नरहेपनि फोटोग्राफीको क्षेत्रमा उनले नमेटिने छाप छोडेका छन्।

२०१७ सालमा काठमाडौंको न्युरोडमा उनले स्थापना गरेको स्टुडियो फोटो कन्सर्न अहिले पनि उत्तिकै लोकप्रिय छ। थापाले त्यतिबेला फोटोग्राफीको सुरुवात गरेका थिए जतिबेला मानिसहरु कागजमा आफ्नो आकृति निकाल्न सकिन्छ भन्दा पनि आश्चर्य व्यक्त गर्थे।

त्यो बेला राजपरिवारको फोटो खिच्ने मात्र केही फोटोग्राफर थिए। उनका साथी फिल्म निर्माता तथा निर्देशक गेहेन्द्र धिमाल सम्झन्छन् 'दरबारमा मात्र केही फोटोग्राफर थिए। जनताको र व्यवसायिक रुपमा त्यस्तो कुनै ठाँउ थिएन जहाँ फोटो खिच्न पाउन्।'

धिमालले भेट्दा थापा दिल्लीबाट भर्खर फर्किएका थिए। काठमाडौं आएपछि सुरुमा उनले जीपको ड्राइभरको काम गरे। एयरपोर्ट, बौद्ध  र न्युरोडको प्युखा रुटमा गाडी चलाउँथे। तर थापाले यतिमा चित्त बुझाएनन्। दिल्लीमै फोटोग्राफी सिकेका उनले परिवारको सल्लाहमा फोटो कन्सर्न खोलेका थिए। 

काठमाडौं न्युरोडमा थापाले सुरु गरेको फोटो कन्सर्नले केही वर्षमै राम्रो चर्चा पायो र उनले व्यवसायिक सफलता। त्यतिबेला उनले एउटा फोटो निकालेको २५ पैसा लिन्थे। 

फोटोग्राफर एवं छायाँकार गौरीशंकर धुँजुले बिहेको फोटो थापासँगै खिचाएका थिए। 'बिहेको लागि फोटो खिचाउन गएको थिएँ। मान्छेको भीडभाड भैरहन्थ्यो। मान्छेहरु कुरेर फोटो खिचिरहेका थिए' उनले त्यतिबेलाको 'डीबी दाइको फोटो कन्सर्न' सम्झिए 'त्यतिबेलाको पसलको भव्यता नै अर्कै थियो। त्यत्तिको पसल न्युरोडमै थिएन।'

राजपरिवारको फोटो खिच्ने जिम्मा  

त्यतिबेला ब्यवसायिक फोटोग्राफरहरु धेरै थिएनन्। उनीहरुबीच पनि राजपरिवारको फोटो कसले खिच्ने भन्ने अघोषित प्रतिस्पर्धा नै हुन्थ्यो। फोटोग्राफरलाई दरबारबाट पालैपालो बोलावट हुन्थ्यो।

थापालाई कसैले पनि उछिन्न सकेको थिएन। व्यवसायिक उत्कृष्टता र व्यवहारिक सरलताले उनले राजपरिवारको मन जितिसकेका थिए। धिमाल सम्झन्छन्, 'त्यतिबेला राजपरिवारका फोटा खिच्ने केही मात्र मान्छे थिए। उनीहरुले डीबी थापाले फोटो खिचेको राम्रो मान्दैनथे।' थापाको सरल व्यवहार र नम्रताले तत्कालिन राजा वीरेन्द्रको मन जितेको धिमाल बताउँछन्। 'थापाको कोमलताले राजा वीरेन्द्रको मन जित्यो र केही वर्ष थापा एक्लैले राजपरिवारका देश विदेशका सवारीका फोटा खिचे।'

केही वर्षसम्म राजपरिवारको फोटो खिच्ने सम्पूर्ण अधिकार नै थापाले मात्र पाएका थिए। थापा तत्कालिन राजा वीरेन्द्रको ५५ जन्मोत्सवमा प्रवल गोरखा दक्षिणवाहु चौथोबाट सम्मानित पनि भएका थिए। 

फिल्म निर्माणमा संलग्नता

डीबी थापा नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो फिल्म 'माइतीघर' मा सह निर्माता थिए। थापाले माया प्रीति, जीवनज्योति, माइली, लाहुरे लगायत फिल्म निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसका साथै उनले डकुमेन्ट्री निर्माण र निर्देशन समेत गरेका छन्।

नेपालमै फिल्म निर्माणको कामलाई पूर्णता दिन थापाको महत्वपूर्ण भूमिका रहेको धुँजुले बताए। 'त्यतिबेला फिल्म र फोटोको अन्तिम काम गर्न मुम्बई वा हङकङ लानुपर्ने हुन्थ्यो। डीबी दाईले विदेशबाट चलचित्र निर्माणका सामाग्री ल्याएर फिल्म निर्माणमा महत्वपूर्ण काम गरेका छन्' उनले भने। 

थापाले नेपालमा पहिलोपटक फिल्म निर्माणकै लागि ३५ एम एमको क्यामेरा भित्र्याएको सम्झदै धुँजुले भने, 'ब्याल्यक एण्ड ह्वाइटको जमानादेखि नै नेपालमा फोटोग्राफी सुरु गरेका थिए। नेपालमा फोटोग्राफी थापाले नभित्र्याएको भए नेपालले व्यवसायिक फोटोग्राफीसँग धेरै ढिलो परिचय पाउँथ्यो।'

***

थापा ८३ वर्षको उमेरमा सोमबार निधन भयो। निमोनिया भएर ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएका उनलाई चार दिनयता भेन्टिलेटरमा राखिएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरबाट बाहिर निकालिएको थियो। त्यसको एक घण्टामै उनको निधन भयो। थापाको परिवारमा एक छोरा, बुहारी, एक नाती र चार नातीनी छन्। उनले सुरु गरेको न्युरोडको फोटो कन्सर्न अहिले उनकी नातिनीले सञ्चालन गर्छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.