|

काठमाडौं : कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ। निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको कांग्रेसका एक नेताले बताए। पहिलो चरणअन्तर्गत ३२ जिल्लामा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल भए पनि दोस्रो चरणअन्तर्गतका मधेसका निर्वाचन क्षेत्रमा चुनावी तालमेल कठिन देखिएको हो। 

पहिलो चरणको तालमेलमा पनि सहमतिअनुसार कार्यान्वयन नभएको भन्दै कांग्रेस नेताहरू गठबन्धनमा आबद्ध दलसँग असन्तुष्ट छन्। कांग्रेसले नयाँ शक्तिलाई प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ सिट दिएको थियो। त्यस्तै राप्रपा (प्रजातान्त्रिक) लाई प्रतिनिधिसभामा १, राप्रपालाई प्रदेशसभामा २ र संघीय समाजवादी फोरमलाई प्रदेशसभामा १ सिट छाडेको थियो। यीबाहेक तालमेलमा सामेल सबै दलले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति भएको थियो। त्यसविपरीत राप्रपा, राप्रपा (प्रजातान्त्रिक) संघीय समाजवादी फोरम र नयाँ शक्तिबाटै उम्मदेवार परेपछि कांग्रेस झस्केको छ। 

कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसले छाडेका बाहेकका निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलबाट उम्मेदवारी नदिने सहमति भएको बताए। ‘सहमतिविपरीत केही ठाउँमा उम्मेदवारी परेका छन्, त्यसलाई सम्बन्धित दलका शीर्ष नेताले फिर्ता गराउने भन्नुभएको छ,’ निधिले कान्तिपुरसँग भने, ‘दोस्रो चरणमा पनि लोकतान्त्रिक गठबन्धनमा रहेका सबै दलबीच तालमेल हुन्छ।’ 

कांग्रेसको मुख्य जनाधार क्षेत्र मधेस हो। त्यही मधेसमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले कांग्रेसले भन्दा आफूहरूले बढी सिट पाउनुपर्ने माग गर्दै आएका छन्। खासगरी प्रदेश २ को सिट बाँडफाँट नै तालमेलका लागि जटिल बनेको छ। राजपा र फोरमले मधेसबाटै प्रतिनिधिसभामा ५५ सिट र प्रदेशसभामा १ सय ३१ सिट पाउनुपर्ने माग गरेका छन् जसमा प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा मात्रै २४ सिट प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन्। 

सिट बाँडफाँटका लागि गठबन्धनमा आबद्ध दलबीच कार्यदलसमेत गठन गरेको थियो। उक्त कार्यदलका संयोजकसमेत रहेका कांग्रेस नेता निधिले तालमेलमा कुनै सकस नभएको दाबी गरे। ‘कुन दललाई कति सिट भन्दा पनि कुन क्षेत्रमा कुन दलको प्रभाव कस्तो छ, त्यसका आधारमा तालमेल हुन्छ,’ उनले भने, ‘भोलिदेखि (मंगलबार) नै तालमेलका लागि छलफल अघि बढ्छ।’ 

राजपा र फोरमले चुनावी तालेमल गरिसकेका छन्। दुई दलबीच २ नम्बर प्रदेशमा सिट बाँडफाँटसमेत मिलाइएको छ। फोरमले १७ प्रतिनिधिसभा र ३३ प्रदेशको सिट लिने भएको छ भने राजपाले १५ प्रतिनिधिसभा र ३१ प्रदेशसभा लिने सहमति भएको छ। कांग्रेससँग तालमेल गर्दा संयुक्त रूपमा गर्ने उनीहरूको निर्णय छ। राजपा र फोरमले २० सिटभन्दा तल झर्न नसकिने संयुक्त अडान राख्दै आएका छन्।

सिट बाँडफाँट मिलाउन कांग्रेस, राजपा र फोरमबीच तिहारका बेला अनौपचारिक छलफलसमेत भएको थियो। त्यस बैठकमा कांग्रेसले प्रतिनिधिसभामा १८ सिट आफूहरूलाई दिन माग गरेको थियो। ‘हामी पचास/पचास प्रतिशत बाँडफाँट गरेर जान तयार छौं, तर कांग्रेसले बढी सिट खोजिरहेकाले सहमति हुन सकेको छैन,’ फोरमका एक नेताले भने, ‘तालमेलको सम्भावना अझै छ। सोमबारै हामी छलफलमा जुट्छौं।’ 

तालमेलमा सहमति नजुटेमा कांग्रेस, राजपा र फोरमबीच शीर्ष नेतृत्वको क्षेत्रमा मात्रै तालमेल गर्ने विकल्पसमेत अघि बढाएका छन्। ‘सहमति जुटेन भने हाम्रा अध्यक्ष मण्डलका नेताहरूका ठाउँमा कांग्रेसले उम्मेदवारी नदिने र हामीले पनि कांग्रेसका सिनियर नेताहरूका ठाउँमा उम्मेदवार नदिने विकल्प पनि आएको छ,’ स्रोतले भन्यो।

राजपा महासचिव केशव झाले भने कांग्रेससँग सकारात्मक ढंगले नै वार्ता भइरहेको बताए। ‘तालमेलको सम्भावना अझै छ। पहिलो चरणमा हाम्रो र फोरमबीच तालमेल टुंगिएपछि कांग्रेसँगको तालमेललाई अघि बढाउँछौं,’ उनले भने, ‘सम्भवत: सोमबारदेखि नै कांग्रेससँग छलफल सुरु हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.