|

चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा कालोपत्रेको काम तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले अहिले यहाँको तीनवटै खण्डमा कालोपत्रेलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। आजसम्मको प्रगति अनुसार १० किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रे सकिएको र दोस्रो तहको कालोपत्रेको कामसमेत सुरु भएको छ। तीन तहमा कालोपत्रे गरिने उक्त सडकको पहिलो र दोस्रो तह ६/६ सेन्टीमिटर र तेस्रो तह ४ सेन्टिमिटर गरी कुल १६ सेन्टीमिटरको हुनेछ।

सडकको ग्राभेलदेखि नै मापन गर्ने हो भने सडकको कुल उचाई भने ६१ सेन्टिमिटरको हुने आयोजनाले जनाएको छ। ३६ किलोमिटरको उक्त सडकखण्डमा ३/४ किलोमिटर बाहेकको क्षेत्रमा अब कालोपत्रे गर्न मिल्ने अवस्था रहेको यादव बताउँछन्। यहाँको सडकमा करिब ७०० मिटर भित्तो काट्नै बाँकी छ भने डेढ सय मिटरमा क्यान्टिलिभर राखिने समेत उनले बताए। ‘अरु क्षेत्रमा पिचका लागि कुनै समस्या छैन,’ यादवले भने, ‘सडक बन्द गरेरै काम गर्न पाएको भए निक्कै छिटो हुन्थ्यो।’ यही कात्तिक १५ बाट दिउँसोमा सडक बन्द गरेर काम गर्ने सूचना जारी गरिएको भए पनि निर्वाचन आउन लागेको भन्दै स्थानीय प्रासनको आग्रहमा बन्द नगरिएको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर शिवप्रसाद खनाल सडक निर्माणको काममा ५८ दशमल ३६ प्रतिशत सम्पन्न भएको बताउँछन्।

आगामी फागुन (फेब्रुअरी २०) सम्म सरकारले आयोजनाको म्याद तोकेको छ। अहिलेको रफ्तार हेर्दा २०७४ सालभित्रमा काम सकिने अवस्था देखिएको खनाल बताउँछन्। सडक बन्द नगरिएकाले भित्तो काट्ने काम हुन सकेको छैन। त्यसैले सबै मजदुरहरुलाई अहिले कालोपत्रेमा केन्द्रित गरिएको जनाइएको छ। चितवनको नारायणगढदेखि दासढुंगा १ नम्बर, दासढुंगादेखि सिमलताल २ नम्बर र त्यसपछि मुग्लिनसम्म ३ नम्बर क्षेत्र छुट्याएर काम हुँदै आएको छ। अन्य क्षेत्रमा भने सडक धुलाम्मे हुँदा यात्रु र सवारी चालक प्रभावित हुँदै आएका छन्। धुलोका कारण अगाडिको गाडीसमेत राम्ररी देख्न सकिँदैन। जसका कारण दुर्घटनाको जोखिम छ।

गएको वैशाखमा निर्माण सम्झौता सकिएर दुईपटक समय थपिइसकेको छ। उक्त सडकको ७०० मिटर क्षेत्रमा एक वर्षदेखि सुरु भएको पहरो फोर्ने काम अझै सकिएको छैन। मुख्य गरी उक्त सडकको सोह्र किलो, घुमाउने र चेपाङ डाँडामा भित्तो काट्न बाँकी छ। वर्षातका बेला पहिरोका कारण उच्च जोखिममा रहेको नारायणगढ–मुग्लिन सडक अहिले वर्षा रोकिएसँगै ठूलो जोखिम देखिएको छैन। यहाँ नेपाल–भारत व्यापार आयोजना अन्तर्गत ३ ब्लकमा नेपाल र भारतका ६ वटा निर्माण कम्पनीले काम गर्दै आएका छन्।

यात्रुहरुलाई ट्रापिक व्यवस्थापन सहज पार्न प्रहरी टोली खटाएको जिल्ला ट्रफिक कार्यालय चितवनका प्रमुख सन्तोष पन्त बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.