|

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासीलिभिच नेकिटलाई ठमेलबाट पक्राउ गरेको छ। उनी एटिएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ गरेका हुन्। दुई महिनायता एटीएम मेसिनबाट अनधिकृतरुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घटना हो।

कात्तिक १४ गते नेपाल आएका भिटालियाले कति एटीएम प्रयोगकर्ताको डाटा अनाधिकृत रुपमा हात पारे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार उनले एकै दिनमा सयौं एटीएम प्रयोगकर्ताको कोड नम्बर हात पारेका हुनसक्छन्। ठमेलको डिस्कभरी होटलमा उनी बस्ने कोठामा छापा मारेर प्रहरीले ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीम मेसिनबाट रकम निकालेका ३ थान स्लिप, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न ५ थान औजार समेत बरामद गरेको छ।

पक्राउ परेका बुल्गेरियन नागरिक एक्लै आएका थिए कि उनले समूहमा मिलेर यस्तो काम गरिरहेका थिए भनेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका बुल्गेरियनले स्किमर मेसिनमार्फत प्राप्त गरेको गोप्य डाटा अरुलाई बेचेका हुनसक्छन्।

ठमेल चाक्सीबारीमा रहेको नेपाल ईन्भेस्टमेन्ट बैंकको एटीएम काउन्टरमा स्किमर मेसिन जडान गरिरहेको सुचनाका आधारमा प्रहरीले बुल्गेरियन नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनले यसैगरी ठमेल क्षेत्रमा रहेको अन्य बैंकको एटीएम बुथमा पनि स्किमर मेसिन जडान गरेको देखिन्छ।

व्यूरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका बुल्गेरियन नागरिक भिटालियाले बिहान लगेर एटीएम बुथमा स्किमर मेसिन जडान गर्थे र बेलुका निकालेर ल्याउँथे। यसरी उनले दिनभर उक्त एटिएम बुथबाट रकम निकाल्ने सबै प्रयोगकर्ताको कार्डको पीन कोड र अन्य डिटेल सजिलै हात पार्थे। २६ भदौमा पनि व्यूरोले कार्ड स्किमरलगायतका उपकरणसहित २३ वर्षीय बुल्गेरियन नागरिक मिटो स्टोभ्यानोभ मिटेभलाई ठमेलबाटै पक्राउ गरेको थियो। व्यूरोले उनको साथबाट एकसय २८ वटा एटीएम कार्ड र ४ लाख ४० हजार नगद बरामद गरेको थियो।

२५ भदौमा पनि प्रहरीले एटीएम मेसिनबाट अवैधरुपमा रकम निकाल्ने टर्किस नागरिक ईक्रम ओर्मेन्सीलाई ठमेलबाट नै पक्राउ गरेको थियो। प्रहरीले उनको साथबाट पनि कार्ड स्किमर मेसिनसहित एक हजार २ सय २५ युरो, ९ हजार ७ सय १० अमेरिकी डलर बरामद गरेको थियो।

पछिल्ला वर्षहरुमा पूर्वी युरोपेली देशका ह्याकरहरु नेपालमा पर्यटकको भेषमा आउने र कमजोर सुरक्षा प्रणाली सहितका नेपाली एटिएम मेसिनबाट प्रयोगकर्ताको एटीएम कार्डको पिन नम्बर र अन्य कोड नम्बर चोरी गरी रकम निकाल्ने गरेका घटना बढेको देखिन्छ। व्यूरोको अनुसार बिशेष गरी पूर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया, रोमानिया तथा मोल्दोभाका नागरिकहरु अत्याधुनिक ह्याकिङ मेसिनसहित नेपाल आउने गरेका देखिन्छन्।

गत वर्षको कात्तिक अन्तिम साता प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्न आएका तीन फरक फरक यूरोपियनको समूहलाई पक्राउ गरेको थियो। लगत्तै, प्रहरीले एकसय १३ थान नक्कली एटीएम कार्डमार्फत ठूलो परिणाममा रकम निकाल्ने दुई टर्किस नागरिकलाई पक्राउ गरेको थियो। त्यतिबेला टर्कीका नागरिक मुहरिक उजुन र सोहत्तिन याबर कान्तिपथस्थित होटल प्यागोडाबाट पक्राउ परेका थिए। उनीहरुबाट प्रहरीले २६ लाख ७५ हजार रुपैयाँ, एक हजार ७ सय युरो र एक हजार ६ सय ६० अमेरिकी डलर बरामद गरेको थियो।

गत कार्तिकमै प्रहरीले एटिएम कार्डको कोडनम्बर अनधिकृत तवरबाट हात पारी रकम निकाल्ने गिरोहमा संग्लन तीन रोमानियन नागरिक गीता हुजुम, लोसिफ मोरारु र एलेक्स क्रिस्टियानलाई पनि पक्राउ गरेको थियो।  त्यस्तै, व्यूरोले नै गत चैतमा पनि एटिएम कार्डको गोप्य पिन नम्बर चोरेर अनधिकृत रुपमा पैसा निकाल्ने माल्दिभ्सका चारजना निकु देकोरदिजा, भ्यासिल फेततेस्कु, युरे देर्मेन्जी पा र युजेन्यु देओरिजालाई पक्रेको थियो। बुल्गेरियन नागरिकले जस्तै यो समूहले पनि एटीएम प्रयोगकर्ताको कार्डको गोप्य पिन नम्बर र बारकोड चोरेर खाली कार्डमा सार्न प्रयोग हुने कार्ड स्किमिङ डिभाइस प्रयोग गरेको थियो।

व्यूरोले अहिलेसम्म एटीएम कार्ड ठगीको घटनामा ४ रोमानियन, ४ टर्किस, ४ बुल्गेरियन, ५ मोल्दोभियन र २ भारतीय गरी १८ विदेशी नागरिकहरु पक्राउ गरिसकेको छ। विभिन्न समयमा पक्राउ परेकाहरुबाट प्रहरीले ८८ लाख ६८ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७३ हजार ५ सय ५० अमेरिकी डलर, ६४ हजार १ सय ७५ युरो र एकहजार दुई सय २६ एटीएम कार्ड बरामद गरिसकेको छ।

बैंकहरुको कमजोर सुरक्षा प्रणालीका कारण एटीएम ह्याकरहरु नेपालतिर आकर्षित भइरहेको व्यूरोको प्रमुख एवं डीआइजी पुष्कर कार्की बताउँछन्। उनले भने, ‘बैंकहरुले एटीएमको सुरक्षा प्रणाली अपग्रेड नगर्दा ह्याकरहरु नेपाल छिरिरहेका छन्।’

ह्याकरहरुले कमजोर सुरक्षा प्रणाली भएका देशका बैंकहरुलाई निसाना बनाउँदै आएका छन्। एटीएम कार्डको पिनकोड चोरीका घटना बढेपछि विकसित देशहरुले चिप्समा आधारित एटिएम कार्ड प्रयोगमा ल्याइसकेका छन्। नेपालका केही बैंकहरुले चिप्सयुक्त एटीएम कार्ड प्रचलनमा ल्याए पनि एटीएम मेसिन भने म्याग्नेटिक प्रविधिकै भएका कारण ह्याकरहरुलाई सजिलो भएको विज्ञहरु बताउँछन्। डीआइजी कार्कीले भने, ‘समयमै संवेदनशील भइएन भने नेपाल अझ बढी ह्याकरहरुको निशानामा पर्नसक्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.