|

भक्तपुर : सदमुकामबाट पाँच किलोमिटरभित्रका क्षेत्रमा समेत मतदाता शिक्षा स्वयंसेवक पुगेका छैनन्। नयाँ नगरपालिका क्षेत्रका अधिकांश नागरिक मतपत्र र मतदानबारे अन्योलमा छन्।

ज्येष्ठ नागरिक तथा महिलाले प्रतिनिधिसभा र प्रदेशसभाका कतिवटा र कस्तो मतपत्र हुन्छ भन्नेबारे जानकारी नै नभएको सुनाए। ‘अहिलेको चुनावमा पनि सातवटा छाप लगाउने होइन र?’ चाँगुनारायण–३ की ६१ वर्षीया मंगली थापाले भनिन्, ‘माला लगाएर आउने धेरै छन्।’

उनले आफूलाई अहिलेसम्म कसैले पनि मतपत्र र मतदान गर्ने प्रक्रियाबारे जानकारी नै नदिएको बताइन्। उनका अनुसार स्थानीय तहको निर्वाचनमा भने धेरै दिन अगाडि नै मतपत्र र मतदानबारे बुझाउन स्वयंसेवक आएका थिए।

चाँगुनारायण–५ का ६० वर्षीय शंखबहादुर थापाले पनि अहिलेको चुनावमा कतिवटा मतपत्र हुन्छ भन्ने थाहा नभएको सुनाए। उनीकहाँ पनि मतदाता शिक्षा दिने कोही आइपुगेका छैनन्। ‘चिया पसलतिर जाँदा चारवटा छाप हान्नुपर्छ भन्ने सुनेको छु’, उनले भने।

ज्येष्ठ नागरिक मात्र होइन गृहिणीहरूलाई पनि चुनावमा कतिवटा मतपत्र हुन्छन् भन्ने जानकारी छैन। उनीहरूले अहिलेसम्म मतपत्र र मतदान गर्ने प्रक्रियाबारे जानकारी दिन कोही नआएको बताए।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार दुई सय नौ स्वयंसेवक परिचालन गरिएको छ। कार्यालयका प्रमुख उमेश राईले भक्तपुरमा एक हजार ६४ मतदाता बराबर एक मतदाता शिक्षा स्वयंसेवक खटिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.