|
तस्विर– कान्तिपुर

बझाङ : जयपृथ्वी नगरपालिका–११ की पानसरा सिंह ५५ वर्षकी भइन्। उनको जीवनमा कति निर्वाचन भए तर अहिलेसम्म भोट हाल्न पाएकी छैनन्।

पानसराको नाममा गाउँका पुरुषले नै मत हाल्थे आइतबार बिहान घरबाट निस्कँदै गर्दा सोचिन्, ‘यसपालि त आफैं भोट हाल्छु।’ मतदान केन्द्रमा अाइपुग्दा स्थिति अर्कै भइदियो। ‘घरबाट त आफै भोट हाल्छु भनेर आएकी हुँ,’ उनले भनिन, ‘तपाईं बिगार्नु हुन्छ। बिग्रियो भने बर्बाद हुन्छ भनेर भतिजा कराउन थाले। जेसुकै गर भनेर दिएँ।’ 

तिनै भतिजाले उनको नामको भोट हाले । यसमा न मतदाता न मतदान अधिकृत न त दलका प्रतिनिधिले वास्ता गरे।भतिजाले हालिदिएको बताइन्। सुरुमा आफ्नो मत आफै हाल्नुपर्ने नियमको कडाइका साथ पालना गरिएको भए पनि १० बजेपछि सबै दलका प्रतिनिधिहरुको सहमतिमा महिलाले चाहेमा अर्कोलाई मत हाल्न दिने व्यवस्था गरिएको जयपृथ्वी नगरपालिका १ का कृष्ण विकले बताए। ‘१०–१५ जना महिलाको मत पनि एकै जनाले खसालेका छन्,’ उनले भने, ‘धेरैजसो महिलाहरु आफै हाल्न सक्दैनौं भन्न थाले। उनीहरुको मत अरुले हालिदिए।’

महिलाको मत अरुले हाल्ने प्रचलनको निरन्तरता जिल्लाभरका मतदान केन्द्रमा देखिएको स्थानीयले बताएका छन्। वित्थड चिर गाउँपालिकामा पनि अधिकांश मत पुरुषले नै हालेको त्यहाँका स्थानीय तेजबहादुर बोहराले बताए। उनले भने, ‘२०–२५ वर्षका महिलालाई पनि आँखा देख्दिन। हात काँप्छ भनेर भन्नु भनेर पहिले नै सिकाए। एक–दुई जना महिलाको मत अरुले हाल्ने वित्तिकै त नियमै जस्तो भैहाल्यो।’

कुनै कुनै मतदान केन्द्रमा भने महिलाको भोट अरुले हाल्ने विषयमा कडाई गरेपछि विवादसमेत भएको थियो। थलारा गाउँपालिका ८ मा रहेको शैलेश्वरी निमावि मतदान केन्द्रमा  मतदाता देवराज उपाध्यायकी श्रीमतीको भोट श्रीमानले हाल्न खोज्दा झडप भएको हो। एमालेका कार्यकर्ताले भोट हाल्न नपाउने भनेपछि झडप भएको थियो। झडपका क्रममा एक जना एमालेका कार्यकता सामान्य घाइते भएका थिए। 

आफूहरुले महिलाको मत अरुलाई हाल्न नदिने विषयमा कडाई गर्न खोजे पनि मतदान कार्यमा खटिएका दलका प्रतिनिधिहरुले यसको विरोध गर्न थालेपछि आफूहरु पछि हटेको मतदान अधिकृतहरुले बताएका छन्। ‘महिलाले मत विगार्छन। बदर हुन्छ भनेर सबै दलका प्रतिनिधि एकै स्वरमा विरोध गर्न थाले’ एक जना मतदान अधिकृतले भने, ‘त्यही विषयलाई लिएर अशान्ति हुने र मतदान नै बिथोलिने अवस्था आएपछि हामी पनि बाध्य भयौ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.