|

लिबाङ : दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको रोल्पाको थबाङमा यसपटक करिब ३० प्रतिशत मत खसेको छ। थबाङ गाउँपालिकाको वडा १ र २ मा पर्ने साविकको थबाङ गाविसमा ८ सय २२ मत खसेको हो, जुन २९.६५ प्रतिशत हुन आउँछ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जितेको वडा १ मा यसपटक २ सय ७६ मत खसेको छ। त्यहाँ एक हजार दुई सय ६७ मतदाता थिए। स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरेको वडा नम्बर २ मा पाँच सय ४६ मत खसेको छ। त्यहाँ एक हजार पाँच सय पाँच मतदाता थिए।

नेकपाले रातिदेखि नै बिहानसम्म विस्फोट गराएर मतदातालाई अवरोध गर्न खोजे पनि सुरक्षा गस्तीसहित मतदाता मतदान केन्द्रमा आएका थिए। मतदाता फर्किंदै गर्दा दिउँसो पनि विस्फोट भएको जनाइएको छ। नेकपाले चुनाव खारेज गर्ने र माओवादी केन्द्रले चुनावमा मतदान गर्ने रणनीति अख्तियार गरेका थिए। जसले गर्दा थबाङी मतदाता चर्को दबाबमा थिए।

सुरक्षा दृष्टिकोणले उच्च संवेदनशील मानिएको रोल्पामा चुनाव अवधिभर दर्जनौं विस्फोट भएका थिए। निर्वाचनको अघिल्लो रातिदेखि नै ठाउँठाउँमा विस्फोट गरिएको थियो। थबाङ, उवा, इरिबाङ, पेदीखोला, पाखापानी, जिनाबाङ, गैरीगाउँ, बुढागाउँ, ब्याङखोला लगायतका स्थानमा विस्फोट भएको सुरक्षा अधिकारीले जनाएका छन्। मतदाता तर्साउन विस्फोट गरिएका दुई स्थानका बमलाई नेपाली सेनाले डिस्पोज गरेको खड्ग दल गणका गणपति अजय गुरुङले बताए।

मतदातालाई रोक्न थबाङ, पाखापानी, जिनाबाङ, घर्तीगाउँको ब्याङखोलामा पटकपटक अज्ञात समूहले बम विस्फोट गराएका थिए। नेकपाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’को जन्मथलो इरिबाङमा मतदातालाई अवरोध गरिएको थियो।

मतदाता रोकेको सूचना पाएर त्यहाँ पुगेको सशस्त्र प्रहरीलाई सुतली बम प्रहार गरेका थिए। सशस्त्र प्रहरीले केही राउन्ड जवाफी फायरिङ गरेको थियो। हवाइ गस्ती, नेपाली सेना र सशस्त्र प्रहरीले उच्च सुरक्षा गस्ती गरेका थिए। विस्फोटका घटना भए पनि कुनै मानवीय क्षति भएन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.