|

मुस्ताङ : शून्य डिग्री तापक्रम। मधुरो घामको न्यानो पनि बादलले छेकिदिनाले रातको जस्तै ठिही थियो। तैपनि उपल्लो मुस्ताङवासी चिसोको परवाह नगरी आइतबार बिहानै मतदानस्थलमा भोट दिन ओइरिए। बाक्ला कपडा लाएर उनीहरूले हिउँ छल्दै मतदान गरे। 

धेरैले चिसोका कारण स्थानीय चुनावमा भन्दा कम भोट खस्ने आशंका गरेका थिए। तर, मतदाताले चिसो खपेरै भोट दिए। हिउँ परेका विकट गाउँका कतिपय मतदान केन्द्रमा ९० प्रतिशतसम्म भोट खसेको छ। अघिल्ला वर्षमा मतदाता जाडो छल्न असोज–कात्तिकमै अन्य जिल्ला जाने गर्थे। यसपालि अन्य ठाउँमा गएका मतदाता पनि भोट हाल्न आए। ्

तिपय स्थानीय चिसो खपेरै बसे। जाडो खप्न नसकेकाहरू डोल्पा गएर बसेका थिए। ‘अनुमान गरेभन्दा धेरै भोट खस्यो,’ मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले भने, ‘जनताको यो उत्साह निकै प्रशंसनीय छ।’ कुनै पनि केन्द्रमा अवरोध नभई मतदान सकिएको उनले जानकारी दिए। 

डोल्पासँग जोडिएको हिमाली आधारभूत विद्यालय शान्तास्थित मतदान केन्द्रमा ३९ मध्ये ३४ भोट खसेको छ। यो गाउँका मतदाता भोट हाल्न डोल्पा गएर बसेका थिए। आफ्नो गाउँमा हिउँ परेपछि बस्न नसकेर उनीहरू डोल्पा गएका हुन्। सबै आएर भोट हालेर फर्किए। भोट हालिसकेपछि उनीहरू सबै पोखरा र नेपालगनञ्जतिर व्यापार गर्न जाने बताउँछन्। 

सेर, छोन्हुप, सुर्खाङ, लोमान्थाङजस्ता विकट गाउँका मतदान केन्द्रमा ८० प्रतिशतभन्दा बढी भोट खसेको छ। भोट दिँदा वृद्धवृद्धा चिसोले लुगलुग काँपिरहेका थिए। कतिपय चिसोका कारण मतपत्र हातले समाउनै नमिलेको कर्मचारीलाई सुनाउँदै थिए। ‘भोट दिन पाउँदा खुशी लागेको छ, जाडो भए पनि भोट दिन पाउनु भाग्य हो नि,’ कागबेनीकी ६५ वर्षीया ढोका गुरुङले भनिन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.