|

सिमकोट :  हुम्लाको सिमकोटबाट सुर्खेतका लागि उडेको तारा एअरको 9AN-ABM विमान हुम्लाको सिमकोट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

सिर १० गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा खटिएका नेपाल प्रहरीका जवान लिएर सुर्खेतको लागि उडेको विमान बिहान ९ बजेर ४३ मिनेटमा दुर्घटना भएको सिमकोट विमानस्थलले जनाएको छ।

सुर्खेतका लागि उडान भर्ने बेला विमानको बायाँपट्टिको टायर पञ्चर भएर धावनमार्गको दक्षिण ५ मिटर तल विमानस्थको घेरबार गरेको तारजालीमा ठोक्किएर दुर्घटना भएको हो। चालक दलका तीन जना सदस्य र १३ जना प्रहरी सकुशल रहेका छन्।

विमानका क्याप्टेन बसन्त लामा, अमृत गुरुङ, एअर होस्टेस श्रेया श्रेष्ठ र प्रहरी सहायक निरीक्षक यमप्रसाद दाहाल सामान्य घाइते भएका छन्। अरु १२ जना प्रहरी जवान भने सकुशल रहेका सिमकोट विमानस्थल प्रमुख भीमदत पन्तले बताए। चारजना घाइतेमध्ये प्रहरी सहायक निरीक्षक दाहाललाई भने बायाँ कन्चटमा गहिरो चोट लाग्नुको साथै कम्मरमा वेल्टले थिचेर पेटमासमेत चोट लागेको जिल्ला स्वास्थ्य कार्यालयका डा. रणजीत यादवले जानकारी दिए।

डा. यादवका अनुसार दुबै क्याप्टेनलाई नाकमा गहिरो चोट भएको र एअर होस्टेस श्रेष्ठ जहाजको वेल्टले थिचिएर पेटमा चोट भएकोले सामान्य चेकचाँजपछि नेपालगन्ज रिफर गरिएको छ।

अन्य प्रहरीहरुलाई भने सामान्य चोटपटक भएकोले मंगलबार नै सुर्खेतमा पठाएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले बताए। बायाँपट्टिको टायर पञ्चर भएपछि एक्कासी उडान असन्तुलन भएको जहाजलाई ब्रेक लगाउँदा विनमास्थलसंगै जोडिएको तारजालीसहित विद्युतको पोलमा ठोक्किएको तारा एअरका क्याप्टेन बसन्त लामाले बताए।

दुर्घटनाबाट क्याप्टेन बस्ने जहाजको अगाडि भाग, दायाँ पखेटा र तीनवटै टायर पूर्णरुपमा क्षति भएको तारा एअरका सिमकोटका स्टनेशन मेनेजर सरस्वती लामाले बताइन्।

तारा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न बुधबार संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको टिम पठाउने तयारी गरेको सिमकोट विमानस्थल प्रमुख भीमदत्त पन्थले थाहाखबरलाई जानकारी दिए।

जहाज के कारणले दुर्घटना भएको हो भन्ने पत्ता लाग्न सकेको छैन। हुम्लामा ५ वटा जहाज ३ वटा हेलिकोप्टर दुर्घटना भए पनि अहिलेसम्म मानवीय क्षति नभएको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.