|
फाइल फोटो

झापा : प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (क्षेत्र नं ५) आयोजित आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध आक्रामक भाषण गरे। 'कम्युनिष्ट सरकार बने कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लाद्ने' दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन्। सिटौलासंगै अर्का कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भए। किन त ? जिल्लामा आफ्नै पार्टी नेतृत्व सहभागी कार्यक्रमप्रति उनीहरुको अनुपस्थितिलाई लिएर यतिबेला विभिन्न कोणबाट चर्चा चलिरहेको छ।

सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन्। सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङेन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन्। यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढ्याउन चाहदैनन्। बरु आफ्नै पार्टीको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रमक देखिन्छन्। ‘ओलीविरुद्ध किन बोलि राख्ने भनेर नै दुवै नेता (सिटौला र शर्मा) आफ्नै पार्टीका शीर्षस्थ नेतृत्व उपस्थित रहेको गृहजिल्लाकै कार्यक्रममा नगएका हुन्,’ जिल्लास्थित कांग्रेसका एक नेता भन्छन्। जुन कार्यक्रममा पार्टी नेतृत्वले एमाले अध्यक्ष केपी ओली र वाम गठबन्धनप्रति चर्को विरोधमा अभिव्यक्ति दिएको थियो।

वाम गठबन्धनबिरुद्ध नरम बनेर सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्यो भन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ। यसका पछि केही तर्क पनि छन्। 

०४८ देखि निरन्तर चुनाव लड्दै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङेनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो। सिटौलाको नाम समानुपातिक सूचीको एक नम्बरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो। सुरुका केही दिन पार्टीले गरेको यो निर्णयप्रति मौन थिए सिटौला। जब झापा आएर काठमाडौं फर्किए, अनि उनले आफूजसरी पनि चुनाव लडिछाड्ने बताए। त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ। जसलाई ‘म्याच फिक्सिङ’ संग जोडेर हेरिएको छ। 

यसका पछि सिटौलाका भने भिन्नै तर्क छन्। आफू नभएकै मौकामा समानुपातिक सूचीमा राखिएको र झापाका कांग्रेसका कार्यकर्ताको दबाब र मायाकै कारण आफू चुनावी मैदानमा होमिएको उनी तर्क गर्छन्। ‘मलाई समानुपातिकमा राखेर मेरो क्षेत्रमा राप्रपालाई सघाउने निर्णयलाई मैले पार्टी नेतृत्वको दुस्साहस् भनेको छु,’ उनले भने, ‘म्याच फिक्सिङका कुरा बेकारका कुरा हुन्, एमाले र माओवादी नेतृत्वसंग यो बीचमा मेरो छलफल भएको छैन। नेताहरुले के गर्छन्, थाहा छैन तर मतदाताहरुले झापामा प्रश्न उठाएका छन्।’

राप्रपा नेता लिङेन पनि ‘म्याचफिक्सिङ’ भन्ने हल्लाप्रति विश्वास राख्दैनन्। ‘मलाई त विश्वास छैन, तैपनि त्यसको जवाफ दिने म होइन, केपी ओलीसंग नै सोध्नुहोला’ उनले भने। भित्रभित्र कांग्रेसलाई सघाउने हो कि भन्ने संशय चलिरहेकै बेला लिङेनकै आग्रहमा ओलीले दोस्रोपटक बिहीबार क्षेत्र नम्बर ३ मै आयोजित सभालाई सम्बोधन गर्ने भएका छन्। ओलीको चुनावी अभियानको सुरुवात पनि यसै क्षेत्रबाट भएको थियो।

त्यसो त सिटौलाको निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार नउठाउनुमा एमाले अध्यक्ष ओलीको आफ्नो स्वार्थ पनि जोडिएको छ। ओली र सिटौलाले प्रतिस्पर्धा गरेकै निर्वाचन क्षेत्रमा राप्रपाको प्रभाव मानिन्छ। सम्भवत: राप्रपाको देशभरमै सबभन्दा राम्रो प्रभाव क्षेत्रमध्येका यी दुई निर्वाचन क्षेत्र पर्छन्।

सिटौला समानुपातिक सूचीमा बसेको भए राप्रपाको गठबन्धन यहाँ पनि कांग्रेससंगै बन्थ्यो। राप्रपासंगको गठबन्धनमा काग्रेसकै चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई ओलीसंगै प्रतिस्पर्धा गराउने कि भन्ने अनौपचारिक संवाद पनि कांग्रेस वृत्तमा चलाइएको थियो, जसबाट ओली झस्केका थिए। कांग्रेस नेता शर्माले पनि यी चर्चालाई इन्कार गरेनन्। ‘मलाई यस क्षेत्रबाट बाहिरियाउन पर्छ भन्ने मनसाय सम्भवत: एमालेमा थियोऽ,’ शर्माले भने। ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ‘इन्गेज’ गराइदिने कांग्रेसको यो रणनीति त्यतिबेला असफल भयो, जतिबेला सिटौला चुनावी मैदानमा आउने भए। सिटौला मैदानमा आएपछि राप्रपाको गठबन्धन यस जिल्लामा एमाले र माओवादी केन्द्रसंग जोडिन पुग्यो। जसले ओलीका लागि पनि बाटो सहज हुन पुग्यो।

एमालेका स्थानीय नेता एवं ३ नम्बर निर्वाचन क्षेत्रका चुनाव परिचालन समितिका संयोजक समेत रहेका पुष्पराज पोखरेल अघिल्लो भन्दा पछिल्लो तर्कसंग सहमत छन्। यद्यपि वाम गठबन्धनले अन्य ठाउँमा कांग्रेससंग भएको तिक्कता भने झापाको हकमा नभएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.