|
फाइल फोटो

काठमाडौं : तालामाथि ताला झुण्ड्याइएका कोठा। झ्यालढोकामा चौबिसै घण्टा बन्दुक बोकेका सुरक्षाकर्मीको पहरा। निर्वाचन जित्न आफूले गरेको मिहिनेतको प्रतिफल बन्द भएको कोठा। 

पहिलो चरणमा चुनाव सकिएका ३२ जिल्लाकै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार जिल्ला सदरमुकामका त्यही कोठाभित्र बन्द भएका मतपेटिका सम्झिएर अहिले चुनावी जित हारको लेखाजोखा गर्दै बसेका छन्। 'दिनभर पार्टीका कार्यक्रम, दोस्रो चरणको चुनाव तयारीको दौडधुपले थकित भइन्छ। बेलुकी सुत्ने बेला आफ्नो क्षेत्रको बन्द कोठाभित्र रहेको मतपेटिका सम्झना आउँछ' ओखलढुंगाका कांग्रेस उम्मेदवार रामहरि खतिवडाले मतपरिणाम कुर्दै बस्नुपर्दाको अनुभूति सुनाए। 

उनी एमालेका यज्ञराज सुनुवारसँग प्रतिस्पर्धामा छन्। त्यहाँ पहिलो चरण अन्तर्गत मंसिर १० गते निर्वाचन भइसकेको छ। मतपेटिका तीनवटा सुरक्षा घेरामा शिलबन्दी गरेर राखिएको छ। आफू निर्वाचन लडेको क्षेत्रको मपेटिका बन्दकोठाभित्र थन्क्याएर उनी उदयपुरको चुनावी कार्यक्रममा व्यस्त छन्। तर उनको मन भने आफ्नै क्षेत्रको मतपेटिकामा छ। 'सुत्ने बेला मतपेटिका सम्झिन्छु एक छिन बहलाउँछु' खतिवडाले भने ' सरसर्ती ओखलढुंगाका सबै पाखा पखेरा दिमागमा आउँछन्, अनि मनमनै समीक्षा गर्छु चुनाव जित्ने नै देख्छु र निदाउँछु।'

नुवाकोट १ मा कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतसँग चुनाव लडेका माओवादी केन्द्रका हितबहादुर तामाङको अवस्था पनि त्यस्तै छ। मतपेटिकामा कैद भएको सम्भावित परिणामले उनलाई हुटहुटी जगाउँछ। ' आफ्नै नजिकको नातेदारलाई कुनै अस्पतालमा चिकित्सकको जिम्मा लगाएजस्तो महसुस हुँदोरहेछ' उनले भने 'कहिले मत गन्ने दिन आउला भनेर कुरिरहेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.