|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय) ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन। विस्फोट र बम रहेको हल्ला फैलाउने समूहलाई ‘निर्वाचनविरोधी तत्त्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्त्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।

शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रिय कमाण्ड पोस्टको बैठक बस्यो। बैठक लगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समूहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन। ‘कुन समूहले, कुन झण्डा र ब्यानरमा विस्फोटलगायतका गतिविधि गर्‍यो भन्दा पनि कसले गर्‍यो भन्ने महत्वपूर्ण कुरा हो’, उनले भने।

उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामूहिक कामको उपज भन्दा पनि व्यक्तिकेन्द्रित घटनाका रुपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ। ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए। गृहको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीस्थित विमानस्थलमा शनिबार पत्रकार सम्मेलनमा ‘निर्वाचन केन्द्रित अराजक तत्त्व’ले देशका विभिन्न स्थानमा गराइरहेका विस्फोटका घटना निन्दनिय रहेको बताए। प्रधानमन्त्रीले पनि विस्फोटका घटनामा विप्लव माओवादीको संग्लनताबारे केही बोलेनन्।

उच्च सुरक्षा अधिकारीका अनुसार बैठकमा विप्लव माओवादीका ठूला नेता कहाँ छन भन्नेबारे पनि प्रसंग उठेको थियो। स्रोतका अनुसार त्यस्तो प्रसंगमा प्रहरी महानिरिक्षक प्रकाश अर्यालले विप्लवका नेता भुमिगत भएको बताएका थिए। घटनाबारे विप्लव नेतृत्वले जिम्मा नलिएसम्म उक्त पार्टीलाई मुछ्ने तयारीमा गृह मन्त्रालय देखिन्न।

विप्लव नेतृत्वको नेकपा माओवादीले एक पछि अर्को घटना गराइरहेको बारे सुरक्षा निकाय जानकार नभएको होइन। तर प्रधानमन्त्रीको नेतृत्वमा रहेको गृहले विप्लव माओवादीलाई कसरी हेर्ने भन्नेबारे सुरक्षा निकायलाई कुनै निर्देशन दिएको छैन। गृह (प्रधान) मन्त्रीको प्रत्यक्ष नीति र निर्देशन अभाव मन्त्रालयले खप्नु परेको प्रमाणका रुपमा श्रृंखलाबद्ध विस्फोटका घटनापछि पनि मन्त्रालयको कार्यशैलीमा कुनै बदलाव नआउनुको तथ्यलाई अघि सार्छन्। मन्त्रालयमा सुरक्षा समिति र केन्द्रीय कमाण्ड पोस्टको निरन्तर बैठक बसिरहेछ, तर त्यस्ता बैठकले घटनाको समिक्षाबाहेक कुनै नयाँ रणनीति तय गर्न सकेको देखिँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.