|

काठमाडौं : चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा हुने ठगीका करिब आठ सय उजुरी परेका छन्। चालू आव २०७४\७५ को साउनदेखि कात्तिकसम्म आफू ठगिएको भन्दै सात सय ९४ जना कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।

वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए। उजुरी दिनेको संख्या अहिले बढ्दो क्रममा छ। विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन्। ‘कुनै पनि इजाजत कम्पनी नभएका व्यक्तिले विदेश पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको उजुरी दिने बढी छन्', उनले भने। तर संस्थागत उजुरीमा भने कमी आएको छ। संस्थागत उजुरी भन्नाले म्यानपावर कम्पनीबाट भएको ठगी हो।

चालू आर्थिक वर्षको चार महिनामा म्यानपावर कम्पनीबाट ठगीमा परेको भन्दै तीन सय ८९ जना कामदारले उजुरी दिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि बढिरहेका छन्। यस्तै व्यक्तिगत ठगीका चार सय पाँच वटा उजुरी दर्ता भएका छन्। रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन्। ऋण खोजेर वा जग्गा जमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिइरहेका छन्। चालू आवको चार महिनामा मात्रै डेढ लाखभन्दा बढी युवा विदेश गइसकेका छन्।

यसरी विदेश जानेले नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै व्यापक उजुरी दिने गरेका छन्। तलब र अन्य सुविधा पनि यहाँ भनेजस्तो दिइँदैन। म्यानपावर कम्पनीले पठाउँदा एउटा कम्पनी भन्ने र उता गएपछि अर्को कम्पनीमा काम गर्नुपर्ने कारण पनि बढी समस्या हुने गरेको विभागले जानकारी दिएको छ। ‘विदेश जाने बेलामा नेपाल सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको संख्या धेरै छु, अधिकारीले भने, ‘संस्थागतभन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.