|

चितवन : दक्षिण चितवनको माडीमा आइतबार संयुक्त वाम गठबन्धनले शक्ति प्रदर्शन गर्दै छ। माडीको बसन्तपुरमा आइतबार दिउँसो हुने बृहत् चुनावीसभामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

मंसिर ५ गते भरतपुरमा बृहत आमसभाको तयारी गरिए पनि प्रचण्डका छोरा प्रकाशको निधनका कारण शोकसभामा परिणत गरेको वाम गठबन्धनले आइतबार माडीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागेको हो।

निकुञ्जपारिको क्षेत्र माडी उपत्यका चितवन क्षेत्र नम्बर तीनको निर्णायक मत भएकाले सो क्षेत्रमा सबैको ध्यान तानिएको छ। वाम गठबन्धनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्ड छन् भने प्रदेशसभा सदस्यतर्फ रामलाल महत्तो र कृष्ण भुर्तेल छन्।

प्रचण्डका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेको पकड क्षेत्र माडी हो। त्यसैले वाम गठबन्धनले उसको पटक भत्काउने प्रयासस्वरुप आइतबार यहाँ शक्तिप्रदर्शन गर्न लागेको हो। अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा एमालेका दानबहादुर तामाङलाई हराएर पाण्डे सांसद बनेका थिए।

 यसअघि, १८ कात्तिकमा भएको एक कार्यक्रममा प्रचण्डले राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालाई सोही क्षेत्रमा लगेर पार्टी प्रवेश गराएका थिए।त्यसपछि दोस्रो पटक १० मंसिरमा चुनावी प्रचार तथा घरदैलोमा माडी पुगेका प्रचण्ड  चुनावी कार्यक्रमअन्तर्गत आइतबार तेस्रो पटक माडी पुग्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.