|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन अगाडि देखिएको छ। वाम गठबन्धनका उम्मेदवारले नेपाली कांग्रेस र उसँग गठबन्धनमा आएका दलका शीर्ष नेताहरुलाई समेत पराजित गरेका छन्। 

नेपाली कांग्रेसका चर्चित अनुहार समेत यो निर्वाचनमा पराजित भएका छन् भने मतगणना भइरहेका क्षेत्रहरुमा कमजोर देखिएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र शशांक कोइराला, मिनेन्द्र रिजाल, गगन थापा, प्रकाशमान सिंहलगायतका केही नेता बाहेक कांग्रेसका अन्य नेताहरु हालसम्म मतका हिसाबले पछाडी देखिन्छन्।

१. पशुपतिशम्शेर राणा, राप्रपा प्रजातान्त्रिक

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा पराजीत भएका छन्। वामगठबन्धनका उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले नेता राणालाई ८ हजार ३२ मतान्तरले पराजीत गरेका हुन्। तामाङले ३८ हजार ४ सय १ मत ल्याए भने राणाले ३० हजार ३६९ मत मात्र ल्याए। तामाङसँग राणाको हार यो दोस्रो हो।

२. रवीन्द्र मिश्र, विवेकशील-साझा पार्टी

काठमाडौं क्षेत्र नम्बर १ मा नयाँ शक्तिको रुपमा आएको पार्टी विवेकशील साझा पार्टीका रविन्द्र मिश्र पराजित भएका छन्। लोकतान्त्रिक गठबन्धन तथा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ८१८ मतान्तरले मिश्रलाई हराएका हुन्। नेता सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरे भने सिंहका निकटतम प्रतिद्वन्द्वी विवेकशील–साझा पार्टीका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरे।

३. हितमान शाक्य, माओवादी केन्द्र

काठमाडौं १० मा संयुक्त बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितमान शाक्य पराजित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसीले शाक्यलाई २ हजार २ सय ८३ मतले पछि पार्दै केसी विजयी भएका हुन्।

केसीले २४ हजार १९० मत प्राप्त गरी जित हात गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका छन्।

४. डा. राजन भट्टराई, नेकपा एमाले

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता डा. राजन भट्टराई पराजित भएका छन्। निकै चासोको निर्वाचन क्षेत्रका रुपमा लिइएको यस क्षेत्रमा कांग्रेसका नेता गगनकुमार थापासँग विजयी भएका छन्।

उनले २१ हजार ५५८ मतसहति प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। थापाका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार राजन भट्टराईले १८ हजार १४० मत ल्याए।

५. शेखर कोइराला, नेपाली कांग्रेस

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पराजित भएका छन्। वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मत अन्तरले पराजित गरेका हुन्। पण्डितले ३३ हजार ९ सय ४१ ल्याए भने कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन्।

६. रामहरि खतिवडा, नेपाली कांग्रेस

ओखलढुंगामा कांग्रेस नेता रामहरि खतिवडा पराजित भएका छन्। प्रतिनिधिसभा सदस्यमा संयुक्त वाम गठबन्धनका संयुक्त उम्मेदवार तथा एमाले नेता यज्ञराज सुनुवारले कांग्रेस नेता खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्दै विजयी भएका भए। सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका खतिवडाले २७ हजार ३ सय २७ मत प्राप्त गरे।

७. मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस

सिन्धुपाल्चोक १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पराजित भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका बस्नेतलाई वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले १० हजार ६ सय ६ मतान्तरले पराजित गरेका हुन्। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका बस्नेतले २९ हजार ७ सय ९८ मत मात्र ल्याए।

८. बलबहादुर केसी, नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेस नेता बलबहादुर केसी पराजित भएका छन्। सोलुखुम्बु प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई ३ हजार १६७ बढी मतान्तरले पछि पार्दै पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका हुन्। हेमकुमार राईले २० हजार ९१२ मत प्राप्त गरे भने कांग्रेसका केसीले १७ हजार ७४५ मत ल्याए।

९. महेश आचार्य, नेपाली कांग्रेस

मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य पराजित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले ६ हजार ७ सय २९ मतातन्तरले नेता आचार्यलाई पराजित गरेका हुन्। मोदीले ३३ हजार ५ सय २९ मत ल्याए भने कांग्रेसका आचार्यले २६ हजार ८ सय मत ल्याए।

१०. अम्बिका बस्नेत, नेपाली कांग्रेस

काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेस नेतृ अम्बिका बस्नेत पराजित भएकी छिन। गरिबी निबारण तथा सहकारी विकास मन्त्री समेत रहेकी बस्नेत नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईसँग पराजित भएकी हुन्। एमाले काठमाडौंका अध्यक्ष समेत रहेका राईले १९१६९ ल्याएर विजयी हुँदा अम्बिका बस्नेतले १४८८४ मत प्राप्त गरिन्।

११. नवीन्द्रराज जोशी, नेपाली कांग्रेस

काठमाडौं क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसका नवीन्द्रराज जोशी पराजित भएका छन्। वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता जीवनराम श्रेष्ठसँग जोशी पराजित भएका हुन्। जीवनराम श्रेष्ठले १३३९७ मत ल्याएर विजयी हुँदा कांग्रेसका नवीन्द्रराज जोशीले १२९५३ मत प्राप्त गरे।

जो छन् डेञ्जर जोनमा

कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, अर्जुननरसिंह केसी, विमलेन्द्र निधि, विजय गच्छदार लगायतका अन्य नेताहरु डेन्जर जोनमा छन्। माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा २ मा हार्ने लगभग निश्चित देखिएको छ। झापा ३ मा कृष्ण सिटौला पनि राप्रपा उम्मेदवार राजेन्द्र लिंदेन भन्दा पछि परेका छन्। 

१. नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्र

गोरखा क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईभन्दा पछाडि परेका छन्। ५२,५६५ मत गणना गरिसक्दा नयाँ शक्तिका भट्टराईले २७,२२३ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले २२,३२३ मत प्राप्त गरेका छन्।

२. डा. वंशीधर मिश्र, नेकपा एमाले

रौतहट प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा एमालेका डा. वंशीधर मिश्र पछाडि परेका छन्। उनी कांग्रेसका देवप्रसाद तिमल्सिनाभन्दा पछाडि परेका हुन्। 

३. कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेस

झापा क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पछाडि परेका छन्। शनिबार साँझसम्म राप्रपाका राजेन्द्र लिङ्देनले २३६९५ मत र  कांग्रेसका सिटौलाले १५९३६ मत ल्याएका छन्। 

४. रामचन्द्र पौडेल, नेपाली कांग्रेस

तनहुँ १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ "किसान"भन्दा पछाडि परेका छन्। शनिबार दिउँसोसम्म पौडेलले अहिलेसम्म १५३५० मत पाएका छन् भने उनका प्रतिस्पर्धी कृष्णकुमार श्रेष्ठ 'किसान'ले १९३७५ मत ल्याएका छन्।

५. रामशरण महत, नेपाली कांग्रेस

नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेस नेता रामशरण महत पछाडि परेका छन्। बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ भन्दा झण्डै ३ हजार ६ सय ९५ मतले पछाडि परेका छन्। 

६. अर्जुन नरसिंह केसी, नेपाली कांग्रेस

नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी डेञ्जर जोनमा छन्। पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाभन्दा कांग्रेस नेता केसी ६ हजार ७ सय ७६ मतले पछाडि परेका छन्।  

७. उदयशमशेर राणा, नेपाली कांग्रेस

ललितपुर क्षेत्र नम्बर ३ मा कांग्रेस नेता तथा अर्थराज्यमन्त्री उदयशम्शेर राणा एमालेका उम्मेदवार एमालेमा नवराज सिलवाल भन्दा पछि परेका छन्। उनी करिब ३ हजार मतले पछि परेका छन्। 

८. शंकर भण्डारी, नेपाली कांग्रेस

तनहुँ प्रतिनिधि सभा १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी पछि परेका छन्। एमालेका केदार सिग्देलसँग प्रतिस्पर्धामा रहेका नेता भण्डारी ३ हजार मतान्तरले पछाडि छन्। 

९. विमलेन्द्र निधि, नेपाली कांग्रेस

कांग्रेस नेता विमलेन्द्र निधि पनि मतगणनाको शुरुवाती अवस्थादेखि नै पछाडि परेका छन्। धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका निधि राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोभन्दा करिब ३६०० मतले पछि परेका छन्। 

१०. विजयकुमार गच्छदार, नेपाली कांग्रेस

सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका कांग्रेस नेता विजयकुमार गच्छदार हालसम्मको मतपरिणामअनुसार एमालेकी भगवती चौधरीभन्दा पछि परेका छन्। गच्छदार चौधरी भन्दा झण्डै २ हजार मतअन्तरले पछि छन्। 

११. विक्रम पाण्डे, राप्रपा

चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे पराजित हुने देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रतिस्पर्धी रहेका नेता पाण्डे हालसम्मको मतपरिणाम अनुसार करिब २ हजार मतले पछि छन्। शनिबार साँझ ५ बजेसम्म १० हजार ३९४ मत गणना गर्दा प्रचण्डले ६१२५ मत र राप्रपाका विक्रम पाण्डेले ३५४० मत प्राप्त गरेका छन्।

१२. दीपक बोहरा, राप्रपा प्रजातान्त्रिक

रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभाको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरा एमालेका घनश्याम भुसाल भन्दा पछि परेका छन्। बोहरा करिब ४ हजरा मतले पछि परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.