|

गोरखा : नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। भट्टराईले ६० हजार एक सय नौ मतमा ३१ हजार आठसय सात  मत ल्याएर बाम गठबन्धनका उमेद्वार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई हराएका हुन्।

निकै चर्चामा रहेको गोरखा क्षेत्र नं. २ मा अन्ततः डा. भट्टराईले नै चुनावी पासा पल्टाए। उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार नौ सय ३३ मात्र मत ल्याए। बाबुरामले श्रेष्ठ भन्दा छ हजार आठ सय ७४ मत बढी ल्याए। 

श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार थिए भने भट्टराईलाई नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिकको साथ थियो। भट्टराई यस अघि गोरखा क्षेत्र नं. २ बाट नै २०६४ सालमा अत्यधिक मतका साथ संविधान सभा निर्वाचनमा विजयी भएका थिए। त्यस्तै २०७० को दोस्रो संविधान सभा निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट माओवादी केन्द्रबाट उम्मेदवार भई निर्वाचित भएका थिए।

क्षेत्र १ को क मा माओवादीका थापा विजयी

गोरखा सदरमुकाम समेत रहेको गोरखा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका नेता लेखबहादुर थापा मगर विजयी भएका छन्। उनले नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका धिरन थापालाई २५ सय ३९ मतले हराएका हुन्। मगरले १६ हजार पाँचसय ५८ मत ल्याए भने थापाले १४ हजार १९  मात्र मत ल्याए।

क्षेत्र १ को ख मा एमालेका बस्नेत विजयी

गोरखा क्षेत्र नं १ को प्रदेश ख मा नेकपा एमालेका रामशरण बस्नेत विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईलाई हराएका हुन्। बस्नेतले १६ हजार  छसय ५६ मत ल्याए भने बजगाईंले १३ हजार एक मात्र मत ल्याए।

गोरखा २ क मा नयाँ शक्तिका आचार्य विजयी

गोरखा क्षेत्र नं २ प्रदेश क मा नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नेतृ कमला नहर्कीलाई ३२७८ मतले हराएका हुन्। आचार्यले १५३४५ मत ल्याए भने नहर्कीले १२०६५ मत मात्र ल्याइन्। सो प्रदेशमा २९१२६ मत खसेको थियो। बदर मत भने १०६७ रहेको छ। 

गोरखा २ ख मा कांग्रेसका दवाडी विजयी

गोरखा क्षेत्र नं. २ को प्रदेश ख मा नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका प्रकाशचन्द्र दवाडी विजयी भएका छन्। उनले पूर्वसभासदसमेत रहेका अमर बहादुर गुरुङलाई पराजित गरेका हुन्। उनले १५ हजार ८ सय ५३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी  तमुले १३ हजार चार सय ११ मत मात्र ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.