को हुन् नेम्वाङ ?

|
फाइल फोटो

इलाम : क्षेत्र नं. २ मा वाम गठबन्धनका साझा उम्मेदवार सुवासचन्द्र नेम्वाङ ९ हजार ६५४ मतअन्तरले विजयी भएका छन्। एमालेका उम्मेदवार नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका हुन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरे। 

को हुन् नेम्वाङ?

स्व. राम बहादुर नेम्वाङ स्व. अपिन्द्र कुमारी नेम्वाङका सुपुत्रका रूपमा नेम्वाङको जन्म २००६ सालमा भएको हो। इलाम नगरपालिका ७ स्थायी घर भएका नेम्वाङ नेपालका संविधानसभाका दुईवटै निर्वाचन पछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गरेका थिए। 

दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसदको सभामुख बनेका उनी संविधानसभा निर्वाचनपछि लामो समय सो पदमा रहे। इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष भएर काम गरेका थिए। 

 एमालेको केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङले २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। कानून व्यवसायी र प्राध्यापकका रूपमा परिचित नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेवारी पनि सम्हालेका थिए। 

२०२९ सालमा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील छन्। एमालेको संसदीय दलको उपनेता समेत भएका नेम्वाङ स्थायी कमिटी सदस्य हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए।

उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकसम्मको अध्ययन पछि नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म प्राध्यापन गरेका थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.