|

झापा : झापा  क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा (लिम्बु) निर्वाचित भएका छन्। सावाँले ४३ हजार ५ सय १५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमाले उम्मेदवार सावाँ १६ हजार ६ सय ९३ मतान्तरले विजयी भएका हुन्।

क्षेत्र ४ अन्तरगत प्रदेशसभा (क) मा माओवादी केन्द्रका झलकबहादुर मगर विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण भट्टराईलाई ४ हजार ४ सय ७५ मतान्तरले पराजित गरे। मगरले १७ हजार २ सय ५६ मत प्राप्त गरे भने भट्टराईले १२ हजार ४ सय ८१ मत प्राप्त गरे।

क्षेत्र नम्बर ४ अन्तरगतकै प्रदेशसभा (ख) मा एमालेका हिराकुमार थापा विजयी भएका छन्। उनले कांग्रेसका उत्तमकुमार शर्मा सुवेदीलाई ९ हजार ९ सय ३६ मतान्तरले पराजित गरेका हुन्। थापाले २४ हजार ९ सय १ मत प्राप्त गरेका छन् भने, सुवेदीले १४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन्।

को हुन् सावाँ?

एमालेका सावाँ दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। त्यसबेला नेपाली कांग्रेस उम्मेदवार केशवकुमार बुढाथोकीसँग झिनो अन्तरले पराजित भएका थिए। ताप्लेजुङको नाल्बुमा २०२४ सालमा जन्मिएका उनी १९ वर्षको उमेरमा धरानको हात्तीसार क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएपछि भने सावाँ पूर्णकालिन राजनीतिमा होमिए। सावाँ एमाले निकट व्यवसायीहरुको संगठनको प्रदेश नं १ का संयोजक हुन्। उनी नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष समेत भइसकेका छन्। उनको वैदेशिक रोजगार सम्बन्धी व्यवसाय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.