|

काठमाडौं : स्वास्थ्य मन्त्रालयले संघीय संरचनाअनुरूप विद्यमान स्वास्थ्य नीति परिमार्जन गर्दै नयाँ स्वास्थ्य नीति तयार पारेको छ। राष्ट्रिय स्वास्थ्य नीति, २०७१ संघीय संरचनाअनुसार नभएको भन्दै नयाँ स्वास्थ्य नीति तयार गरिएको हो। स्वास्थ्य मन्त्रालय योजना महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले राष्ट्रिय स्वास्थ्य नीति, २०७४ को मस्यौदा तयार भएको जानकारी दिए। मस्यौदाले अन्तिम रूप लिएपछि राष्ट्रिय स्वास्थ्य नीति, २०७१ खारेज गरिएको छ। स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई संस्थागत गर्दै संघीय संरचना, अधिकार क्षेत्र तथा दायित्वअनुरूप स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नयाँ स्वास्थ्य नीतिको आवश्यकता परेको उनले बताए।

स्वास्थ्य विज्ञहरूको छलफलपछि समितिले आइतबार मस्यौदालाई अन्तिम रूप दिएर स्वास्थ्यमन्त्री दीपक बोहरालाई बुझाएको छ। मन्त्रालयका अनुसार नेपालले सहश्राब्दी विकास लक्ष्य ४ र ५ मा प्राप्त गरेको सफलतालाई कायम राख्दै स्वास्थ्यसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्न नयाँ नीति अनिवार्य भएको हो। नेपालको संविधान, संघीयता र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचबाट राष्ट्रिय स्वास्थ्य नीति निर्देशित रहेको गिरीले बताए।

यस्तो छ संस्थागत व्यवस्था

मन्त्रालयका अनुसार राष्ट्रिय स्वास्थ्य नीतिलाई संघीय संरचनाअनुरूप स्वास्थ्य मन्त्रालय, मन्त्रालयअन्तर्गतका केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा विद्यमान संरचनाका साथै स्वास्थ्यसँग सम्बन्धित स्वायत्त एवं अर्धस्वायत्त निकायहरूको संवैधानिक र नीतिगत प्रावधानअनुसार पुनः परिभाषित गरी लागू गरिनेछ। नयाँ संघीय संरचनाबमोजिम आवश्यक कर्मचारीको दरबन्दी सिर्जना गरी संस्थागत क्षमता सुदृढ गरिने मस्यौदामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.