|

काठमाडौं : सिकिस्त शिशुहरूको बढ्दो चापसँगै नर्सहरूले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा समस्या देखिएको छ। आईसीयूमा कार्यरत सात जना नर्सले राजीनामा दिएपछि सिकिस्त अवस्थाका बालबालिकालाई शीघ्र उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था आइपरेको छ।

‘दिनैपिच्छे चारर/पाँच जना सिकिस्त बिरामी बेड नपाएर फर्किने गरेका छन्’, मुलुककै एक मात्र केन्द्रीय बाल अस्पतालका निर्देशक डा.गणेशकुमार राईले भने। आईसीयूमा कार्यरत दुई जना नर्सले आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् भने पाँच जना यसअघि नै राजीनामा दिएर अन्यत्र गइसकेका छन्।

स्टाफ नर्सहरू करुणा थापा र मनीषा पुडासैनीले आइतबार राजीनामा दिएका हुन्। आईसीयूमै रहेकी स्टाफ नर्स संगीता श्रेष्ठ पनि राजीनामा दिएर अस्ट्रेलिया जाने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ। स्टाफ नर्स नहुँदा करारबाट नियुक्त पाएका तीन जना सातौं तहका अधिकृतलाई पनि स्टाफ नर्ससरह काम लगाउनुपरेको राईले बताए।

माघ २ गते मात्रै १८ शय्याको आईसीयूको क्षमता विस्तार गरी ५२ शय्या पुर्‍याइएको थियो। बिरामीको बढ्दो चापसँगै सेवा विस्तार गर्ने क्रममा अहिले एनआईसीयूमा १६, पीआईसीयूमा १३ र एसआईसीयूमा आठवटा शय्या सञ्चालनमा ल्याइएको छ। तर, नर्सहरूले राजीनामा दिएपछि सातायता सेवा प्रवाहमा समस्या आएको छ।

आईसीयू कक्ष इन्चार्ज विष्णु बन्जाडेका अनुसार आईसीयूमा कार्यरत दुई नर्स प्रसूति हुने अवस्थामा छन्। ‘आराम गर्नुपर्ने बेला पनि प्रसूति अवस्थामा रहेका स्टाफ नर्सले काम गरिरहेका छन्’, उनले भनिन्, ‘उनीहरू प्रसूति भएर बिदामा बसे भने सेवा प्रवाह कसरी मिलाउने समस्या छ।’

उनका अनुसार आईसीयूमा सेप्टिज, जन्डिस, हाइपोक्सिया, हाइपोथर्मियामा बिरामी धेरै आउँछन्। इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, निमोनिया र मुटुका बिरामीको संख्या पनि पछिल्लो समय बढेको उनले जानकारी दिइन्। ‘क्षमताअनुसार आईसीयूका सबै शय्या सञ्चालनमा ल्याउन सकिएको छैन। विभिन्न समस्याका कारण सेवा प्रवाहमा पनि कठिनाइ भइरहेको छ,’ उनले भनिन्। सर्जिकल वार्डमा अप्रेसन गर्दा गम्भीर भएका बिरामीलाई पनि ल्याउने त आईसीयूमै हो। सीमित नर्सहरूका कारण कोही बिदामा वा बिरामी भए अर्कोलाई दोब्बर भार पर्ने गुनासो उनीहरूको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.