|

उदयपुर : उदयपरको प्रतिनिधिसभा २ को प्रदेससभा ‘क’ बाट विजयी हुँदै स्वतन्त्र उम्मेदवार नारायणबहादुर बुर्जामगर प्रदेशसभा सदस्य बनेका छन्। नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला सहइन्चार्ज रहेका मगर बागी उम्मेदवार उठेर विजयी बनेका हुन्।

स्वतन्त्र उम्मेदवार मगरले प्रतिद्वन्दी नेपाली कांग्रेसका भेषबहादुर थापामगरलाई ३ हजार ९ सय ७८ मतान्तरले पराजित गरे। विजयी मगरले ९ हजार ९ सय १२ मत ल्याएका छन् भने पराजित मगरले ५ हजार ९ सय ३४ मत पाए। 

यस कारण स्वतन्त्र उम्मेदवारी दिएका थिए मगरले

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन बनेको थियो। गठबन्धनले मगरको क्षेत्र माओवादी केन्द्रलाई दिएको थियो। माओवादी केन्द्रले पूर्वसांसद तथा उदयपुर माओवादी नेतृ भेषकुमारी राउतलाई उम्मेदवार बनायो।

राउतलाई उम्मेदवार बनाएपछि माओवादी उदयपुरमा बागी उम्मेदवारी दर्ता गर्ने होडबाजी नै चल्यो। माओवादी केन्द्र उदयपुरमा रहेको विवादको कारण वाम गठबन्धनका आधिकारिक उम्मेदवारले हैरानी खेप्नुपरेको थियो। त्यही क्रममा मगरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिने समयसम्म मगर वाम गठबन्धनका तर्फबाट स्वतन्त्र आधिकारिक उम्मेदवार बने। माओवादी भित्रको विवाद पनि मगरलाई आधिकारिक उम्मेदवार कायम गर्ने र पूर्वसांसद राउतलाई फिर्ता गर्ने सहमतिमा मिल्यो।

राउतको उम्मेदवारी त फिर्ता भयो तर, चुनाव चिह्न भने गुम्यो। चुनाव चिह्न गुम्दा पनि मगरको पक्षमा उदयपुर माओवादी केन्द्र उभियो। मगरले स्वतन्त्र उम्मेदवारको हैसियतले भर्‍याङ चुनाव चिह्न पाए। यसरी सबैको साथ पाउनमा जिल्ला नेता र कार्यकर्तामाझ आफू लोकप्रिय भएकै कारण विजयी भएको दाबी गर्छन् मगर।

‘मेरो क्षेत्रमा भेषकुमारीजीलाई उम्मेदवार बनाइयो,’ मगरले भने, ‘अनि मैले साथीहरुसँग मिलेर स्वतन्त्र उम्मेदवारी दर्ता गरें, अन्तमा पार्टीको चुनाव चिह्न नपाए पनि पार्टी र जनताको साथ पाएँ।’ रूखमुनि भर्‍याङ भन्दै भोट मागेको मगर बताउँछन्।

मगरको क्षेत्रको मत पत्रमा पनि नेपाली का‌ंग्रेसको रूख चिह्नमुनि भर्‍याङ चिह्न थियो। ‘मैले मेरो निर्वाचन क्षेत्रभरी रूखमुनि भर्‍याङ भन्दै हिँडें’ हाँस्दै निर्वाचित मगरले भने, ‘बूढो रुखलाई काटेर आर्थिक समृद्धिको लागि भर्‍याङ बनाएको छु, भोट दिनुहोस् भने।’

यस्तो छ, मगरको राजनीतिक यात्रा

प्रदेश सांसद मगर ०११ वैशाख ५ गते बाबु ललितबहादुर मगर र आमा नीरमाया मगरबाट जन्मेका हुन्। साविकको भुटार गाविस २ ओख्रेनी उनको जन्मस्थल हो। मगरले प्रमाण पत्र तहसम्म अध्ययन गरेका छन्। ०४४ मा नेकपाको चौथो महाधिवेशनमा पार्टी सदस्यता लिँदै राजनीतिक सुरु गरेका हुन्।

०४७ मा नेकपा एकता केन्द्र भयो।  एकता केन्द्रले ०४८ सालमा भएको स्थानीय चुनाव संयुक्त जनमोर्चा बनाएर लड्यो। मगरले पनि भुटार ८ बाट वडा अध्यक्षमा चुनवा लडे। २४ मतले तेस्रो भए। ‘जित्नेले ३९ मत पाएको थियो, दोस्रो हुनेले ३५ र म तेस्रो भएर २४ मत पाए,’ उनले भने, ‘त्यहाँ नेपाली कांग्रेसले जितेको थियो।’

जनमोर्चाकै ०४९ मा उदयपुरको जिल्ला सदस्य भएँ। ०५४ मा पुनः भएको स्थानीय चुनावमा फेरि मगरले साविकको भलायडाँडा गाविसको ९ बाट वडा अध्यक्ष लडे। त्यहाँ पनि पराजित भोगे। ०५९ मा जनमोर्चाको जिल्ला कोषाध्यक्ष भए। ०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बने। तर, त्यहाँ पनि पराजित नै भए उनी।

उनले त्यतिवेला ८ सय २९ मत पाएका थिए। ०६४ मै जनमोर्चा उदयपुरको जिल्ला उपाअध्यक्ष बने।  सोही वर्ष भूमिगत रहेको पार्टी नेकपा एकता केन्द्र उदयपुरका जिल्ला सेक्रेटरी समेतको जिम्मेवारी पाए उनले।

०६५ मा नेकपा एकता केन्द्र तत्कालीन नेकपा माओवादीमा मिलेर एकीकृत नेकपा माओवादी बन्यो। त्यसपछि एनेकपा माओवादी उदयपुरको जिल्ला सहसचिव हुँदै जिल्ला सचिवसमेत बने। अहिले नेकपा माओवादी केन्द्र उदयपुरको सहइन्चार्ज र केन्द्रीय सदस्यसमेत हुन्।

मगरसँग गरिएको लामो कुराकानीमा धेरै पटक नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवसलाई धन्यवाद भने। ‘मलाई स्थानीय तहको निर्वाचनको वेला पनि पार्टीले आस मात्र देखाउने काम गर्‍यो,’ उनले भने, ‘नाम सिफारिस हुँदा पनि टिकट पाइनँ, प्रदेशसभा टिकट दिने भन्दै रोकिए पनि अन्तमा बागी हाल्नुपर्‍यो, साथ दिने दिवसजीलाई धन्यवाद।’

उदयपुरमा माओवादी केन्द्र र नेकपा एमालेले बराबरी सिट भाग लगाएर चुनाव लडेका थिए। माओवादीको भागमा निर्वाचित मगरको प्रदेश र प्रतिनिधिसभा २ र १ को ‘ख’ परेको थियो। एमालेको भागमा प्रतिनिधिसभा १ र २ को ‘क’ अनि १ मा ‘ख’ परेको थियो।

माओवादीबाट प्रतिनिधिसभा २ मा नेकपा माओवादी स्थायी समिति सदस्य सुरेशकुमार हिमाल, निर्वाचित मगरको २ को ‘ख’ फिर्ता लिने पूर्वसांसद भेषकुमार राउत र १ को ‘ख’ मा माओवादीका केन्द्रीय सदस्य रामबहादुर थापामगर उम्मेदवार बनेका थिए।

माओवादीबाट राई, राउत र मगर उम्मेदवार बनेपछि विवाद भएको थियो। २ मा अहिले निर्वाचित राईको विरुद्धमा जिल्ला संयोजक विनोद कटुवाल दिवसले समेत बागी हालेका थिए। माओवादीको भागमा परेको सबै उम्मेदवारविरुद्ध बागी उम्मेदवार परेपछि विवादले चर्को रुप लिएको थियो।

के छन् त निर्वाचित मगरका आगामी योजना?

निर्वाचित मगरको क्षेत्रमा उदयपुरगढी, सुनकोसी र रौतामाई गाउँपालिका पर्दछ। मगरले गाउँपालिका सबै वडाहरूमा शिक्षा, स्वास्थ्य, रोजगार, विद्युत्, खानेपानी, पक्की रोड पुर्‍याउने वाचा मतदातासँग गरेका छन्। ‘मैले मेरो चुनाव चिह्न भर्‍याङबाट जितेको हुँ’ उनले भने, ‘भर्‍याङले जे काम गर्दछ, माथि चढाउने त्यही काम गर्ने योजना मैले लिएको छु।’

उनी अधि भन्छन्, 'यस क्षेत्रमा जनतासँग गरेका सकै वाचा पूरा गर्नेछु। उदयपुरगढी, रौता, माझखर्क क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन आधारभूत पूर्वाधार तयारी थाल्नु मेरो पहिलो जिम्मेवारी भएको छ। यस क्षेत्रमा भौगोलिक बनावटअनुसार कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुछ।'

पहाडी क्षेत्रमा निर्माण भएका ग्रामीण कृषि सडकलाई पक्की रोड बनाउने र यस क्षेत्रमा सबै गाउँपालिकाका वडामा बनेका धुले सडकलाई व्यवस्थित बनाउने योजना रहेको उनले सुनाए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.