|

काठमाडौं : कृषि विकास मन्त्रालयले चालू आर्थिक वर्ष उत्पादन भएको धानको तथ्यांक लुकाएको छ। चालू आर्थिक वर्ष गत आवको तुलनामा उत्पादन बढ्ने बताउँदै आएको मन्त्रालयले वास्तविकता लुकाएर तथ्यांक तोडमतोड गरी सार्वजनिक गर्ने तयारी गरेको छ। यस वर्ष उत्पादन घटेपछि सरकारले यस्तो तयारी गरेको हो।

आर्थिक वर्ष २०७३\७४ मा इतिहासमै सर्वाधिक परिमाणमा धान उत्पादन भएको थियो। मन्त्रालयले गत वर्षको रेकर्डलाई पनि उछिनेर यो वर्ष दुई लाख ६१ हजार टन बढी धान फल्ने घोषणा गरेकोे थियो। मन्त्रालयले बाढीपछि पनि उत्पादनमा उल्लेख्य वृद्धि हुन्छ भनेर सार्वजनिक रूपमै उद्घोष गरेको थियो।

मन्त्रालय उच्च स्रोतका अनुसार चालू आर्थिक वर्ष गत वर्षको तुलनामा करिब ७० हजार टन उत्पादन घटेको छ। चालू आर्थिक वर्ष ०७४\७५ मा करिब ५१ लाख ६० हजार टनको हाराहारीमा मात्रै धान उत्पादन भएको छ। ‘मन्त्रालय उच्च स्रोतले भन्यो, ‘गत वर्षको धान उत्पादन रेकर्ड यो वर्ष तोडिन्छ भन्ने उद्घोष गरे पनि यो वर्ष करिब ६५ देखि ७० हजार टन कम परिमाणमा धान उत्पादन भएको छ। मन्त्रालयले धान उत्पादनको वास्तविक तथ्यांकलाई तोडमोड गरी गत वर्षको तुलनामा केही थोरै भए पनि बढी उत्पादन भएको भनेर सार्वजनिक गर्न गृहकार्य सुरु गरेको छ।'

मन्त्रालयले चालू आवमा ५४ लाख ९१ हजार टन धान उत्पादन हुने प्रक्षेपण गरेको थियो। आव ०७३\७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो। यो वर्ष वास्तविक रूपमा कति परिमाणमा धान उत्पादन भएको छ भन्ने विषयमा मन्त्रालयका सचिव डा।सुरोज पोखरेल, प्रवक्ता डा. योगेन्द्र कार्की र कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मासम्म बोल्ने अवस्थामा छैनन्। उनीहरू एकले अर्को अधिकारीसँग ‘बुझ्नुसु भन्दै  जिम्मेवारीबाट पन्छिँदै आएका छन्। तीन जनामध्ये कोही पनि वास्तविक तथ्यांकसहित आधिकारिक धारणा सार्वजनिक गर्न तयार छैनन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.