|

कालीकोटः जिल्लाको नरहरिनाथ– १ कोटबाडाका मंगल बिष्ट एक वर्षअघि कतार जाने सुरमा थिए। तर, उनले विदेश गएर रोजगार बन्ने योजना बीचमै बदले। आफ्नै गाउँठाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचले उनले विदेश जाने तयारी रद्द गरेका हुन्। 

प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका मंगलले तीन महिनाको निःशुल्क मोबाइल मर्मत तालिम लिए। तालिमपछि उनले गाउँमै मोबाइल मर्मत गर्न सुरु गरे। मोबाइल बिग्रिएपछि स्थानीय सदरमुकाम मान्मसम्म मर्मत गर्न आउँथे त्यहाँका मानिस। तर, मंगलले गाउँमै मोबाइल मर्मत गर्न थालेपछि स्थानीयलाई सुविधा भयो। 

गाउँमा नै मोबाइल मर्मत गरेर महिनामा विदेशको जत्तिकै आम्दानी हुने गरेको बिष्ट बताउँछन्। ‘मोबाइल मर्मतबाटै मासिक २० देखि २५ हजार रुपैयाँ आम्दानी हुन्छ’, उनी भन्छन्, ‘यसैबाट राम्रो कमाइ हुन्छ। विदेश किन जानु, यहीँ राम्रो कमाइ हुन थालेपछि?’

तीन महिना निःशुल्क मोबाइल मर्मत तालिम लिनुका साथै विना धितो ३० हजार रुपैयाँ ऋण लिएर मोबाइल मर्मत केन्द्र सुरु गरेर बसेको मंगलले सुनाए। ‘३० हजारबाट सुरु गरेको व्यवसायमा अहिले राम्रो आम्दानी हुन्छ’, उनी भन्छन्, ‘यहीँ केही गरेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने लागेको छ।’

त्यस्तै, नरहरिनाथ– ९ लालुका रत्न विकले पनि गाउँमा नै मोबाइल मर्मत पसल चलाएर रोजगार भएका छन्। उनले पनि मोबाइल मर्मत तालिम लिएर गाउँमा नै मर्मत पसल सुरु गरेका हुन्। 

अहिले गाउँघरमा मोबाइल सेवा पुगेर सबैको हातहातमा मोबाइल हुने गरेको र गाउँमा नै मोबाइल मर्मत गर्दा राम्रो आम्दानी हुने गरेको रत्नले बताए। ‘गाउँमा मोबाइल नभएको मानिस छैन्’, उनी भन्छन्, ‘दैनिक १० देखि २० मोबाइल बनाएपछि राम्रो आम्दानी हुने गरेको छ।’

गाउँमा नै सामान्य काम गर्दा पनि रोजगार हुने, रोजगारीका लागि विदेश जानु नपर्ने, उनको भनाइ छ। आफू भारतमा प्रत्येक वर्ष रोजगारी जाने गरेको तर अहिले छाडेको रत्नले बताए। ‘गाउँमा नै ससाना काम गर्दा पनि रोजगार भइन्छ’, उनी भन्छन्, ‘म पहिले भारत जाने गरेको थिएँ। अहिले गाउँमा नै राम्रो कमाइ हुन्छ किन भारत जानु?’

मोबाइल मर्मतको तालिम लिएपछि सहकारीबाट ऋण लिएर गाउँमा मोबाइल पसल चलाएको विक बताउँछन्। अहिले सहकारीको ऋण पनि तिरिसकेको उनको भनाइ छ। ‘सहकारीबाट ऋण लिएर मोबाइल मर्मत पसल खोलेको थिएँ’, उनी भन्छन्, ‘अहिले सहकारीको ऋण पनि तिरिसकेँ।’ 

गाउँमा मोबाइल मर्मत गरेर दैनिक एक हजारदेखि एक हजार २०० रुपैयाँसम्म कमाउने गरेको र मासिक रूपमा गाउँमै १५ हजारदेखि २० हजार रुपैयाँ कमाउने गरेको रत्नले बताए। ‘गाउँमा नै मोबाइल मर्मत गरेर राम्रो कमाइ हुँदोरहेछ’, उनी भन्छन्, ‘भारतमा कमाउने पैसा गाउँमा नै आफ्नो परिवारसँग बसेर कमाएको छु।’ पहिला सामान्य खर्चका लागिसमेत घरपरिवारमाथि निर्भर हुनुपर्नेमा अहिले परिवारको पूरै खर्च नै धान्दै आएको उनको भनाइ छ। रत्नले पसलमा आउने ग्राहकलाई प्राविधिक विषय पढ्न वा सीप सिक्न सल्लाह दिने गरेको बताए।

आफ्नो गाउँका युवालाई समेत मोबाइल मर्मतसम्बन्धी सीप सिक्न उनले प्रेरित गरिरहेका छन्। इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने उनको योजना छ। गाउँका अन्यलाई समेत सोसम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उनको योजना रहेको सुनाए। गाउँमा अहिले ससाना काम गरेर राम्रो कमाइ गर्नेको संख्या वृद्धि हुँदै गएको र सीप भए कसैले विदेश जानु नपर्ने स्थानीय शिक्षक निर्मलकुमार बिष्टले बताए। ‘गाउँमा ससाना काम गरेर धेरै मानिस रोजगार भएका छन्’, उनी भन्छन्, ‘गाउँमा नै राम्रो काम गरे कसैले भारत र अन्य देश रोजगारीका लागि जानुपर्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.