|

डोल्पा : भाइतिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरातिहार मनाएका छन्। प्रत्येक वर्ष पुस शुक्ल द्वितीयाका दिन जुम्ला र डोल्पाका बासिन्दाले छोरातिहार धुमधामका साथ मनाउने गर्छन्।

भाइटीकाजस्तै छोरातिहारमा आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार दिने गर्छिन्। टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामनासहित आशीर्वाद दिने गरिन्छ। छोराले पनि आमालाई सगुनका रूपमा पैसा, कपडालगायत उपहार दिएर टीका थाप्छन्। छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँबस्तीमा भैलो खेल्छन्।

पुरुष मात्रै होइन, यहाँका महिलाले पनि सार्वजनिक स्थलमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने त्रिपुरासुन्दरी–१ का रविप्रसाद न्यौपानेले बताए। ‘यो भैलो तिहारको देउसीभन्दा फरक ढंबाट र फरक लयमा खेलिन्छ,’ उनले भने।

भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाले मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेको उनले बताए। छोरातिहारमा आमा नहुनेहरू भने मन्दिरमा गएर पुजारीको हातबाट टीका लगाउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.