|

काठमाडौं : गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ। मन्त्रालयले नेपालमा बसिरहेका विदेशीको अनुगमन नगर्दा उनीहरू कहाँ र के गरिरहेका छन् यकिन जानकारीसमेत सरकारसँग छैन।

पर्यटक, विद्यार्थी, व्यापार, नाता, कामदारलगायत भिसामा नेपाल बसेका कैयौं विदेशीले भिसाको दुरुपयोग गरी आफू अनुकूल काम गर्दै आएका छन्। पर्यटक भिसामा आएका कतिपय विदेशी नेपालमा इसाई धर्म प्रचारप्रसारमा संलग्न रहेको फेला परेको छ। कतिपय भिसाको म्याद सकिएपछि पनि यहाँ बसिरहेका (ओभर स्टे) छन्। विदेशीले लिएको भिसाअनुरूप काम गरे/नगरेको वा भिसाको दुरुपयोग गरी अन्य गतिविधिमा संलग्न भए/नभएकोमा मन्त्रालय अनभिज्ञ छ।

करिब ३ वर्षअघि पर्यटक भिसामा नेपाल आएका ५४ जना उत्तर कोरियाली सुरुङ खनिरहेको भेटिएपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले उनीहरूलाई निष्कासनको निर्णय गरेका थिए। मन्त्रालयले प्रभावकारी संयन्त्र नबनाउँदा अध्यागमन विभागले अनुगमन गर्न सकेको छैन। पछिल्लो पटक पर्यटक र नातेदारको भिसामा नेपालमा बसेका विदेशी गैरकानुनी रूपमा काम गरेको सूचना आएको भन्दै अध्यागमन विभागले त्यस्तो पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।विभागले आइतबार सूचना प्रकाशन गरी पर्यटक र नातेदार भिसा भएका विदेशीले कुनै संघसंस्थामा काम गर्न नपाउने दोहोर्‍याएको छ।

अध्यागमन नियमावली २०५१ को नियम २० मा पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालमा रहँदा पारि श्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने उल्लेख छ। अध्यागमन विभागले पर्यटक र रिलेसन भिसा लिएकाले काम गरेको पाइए काम गर्ने र लगाउने दुवैलाई अध्यागमन ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। रिलेसन भिसा लिएर नेपाल बसेकाले कुनै काम गर्न चाहे विभागको स्वीकृति लिएर काम गर्न सक्ने प्रावधान छ। पर्यटक भिसामा आएका कुनै पनि विदेशी नागरिकले काम गर्न पाउँदैनन्।

विभागले नेपालमा बसिरहेका विदेशीको गतिविधि अनुगमन र नियन्त्रण गर्न बनाएको निर्देशिकासमेत मन्त्रालयले स्वीकृत गरेको छैन। पर्यटक भिसामा आएका कतिपय विदेशी विभिन्न संघसंस्थामा स्वयंसेवक (भोलेन्टियर) का रूपमा काम गरिरहेका छन्। पर्यटक भिसामा नेपाल आएकाले स्वयंसेवकका रूपमा समेत काम गर्न पाउँदैनन्।

अध्यागमनले दसैंअघि नै ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ पेस गरे पनि मन्त्रालयले चासो नदिँदा थन्किएको छ। विभागले गैरकानुनी रूपमा नेपाल बसिरहेका र भिसा दुरुपयोग गर्नसक्ने विदेशीको गतिविधि अनुगमन गर्न निर्देशिका बनाएर मन्त्रालयमा पेस गरेको थियो। विभागका महानिर्देशक दीपक काफ्लेले विदेशी नागरिक अनुगमन निर्देशिका पारित हुने चरणमा रहेको बताए। महानिर्देशक काफ्लेले भने, ‘निर्देशिकामाथि विभिन्न चरणमा छलफल भइरहेको छ। छिट्टै पारित हुन्छ।’ अनुगमन अभावमा पर्यटकीय स्थल पोखरा, ठमेललगायत स्थानमा पर्यटक भिसामा आएका विदेशीले सडकमै पसल थापेर बस्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.