|
प्रतीकात्मक तस्विर

काठमाडौं : नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ। लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो। ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सयबराबरको लागुऔषध बरामद भएको छ।

त्यसमध्ये नियन्त्रित औषधिजन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँबराबरको बरामद भएको छ। यो संख्या बरामद भएका औषधको ३३ प्रतिशत हो। त्यही अवधिमा हिरोइन, कोकिन, चरेस र गाँजाजन्य लागुऔषध २ अर्ब ६ करोड ९४ लाख २० हजार रुपैयाँबराबरको बरामद भएको छ।

ब्युरोका डिएसपी प्रेमबहादुर शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन्। उनले भने, ‘भारतमा एक सेट लागुऔषध २ सयदेखि ३ सय रुपैयाँमा सजिलै किन्न पाइन्छ। त्यही औषधि नेपाली बजारमा प्रतिसेट १२ सय रुपैयाँमा सजिलै बिक्छ। त्यसकारण पनि भारतीय लागुऔषध कारोबारी यस धन्दामा संलग्न भएको देखिन्छ।’

भारतीय नागरिकको संलग्नता धेरै
भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध करोबारको ‘हब’ बनाएका छन्। लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय नागरिक रहेको भेटिएका हुन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतीय लागुऔषध कारोबारीको मुख्य बजार काठमाडौं उपत्यका हो। त्यसपछि अर्को सुनसरीको धरान। कास्कीको पोखरालाई पनि लागुऔषध करोबारको नयाँ केन्द्रका रूपमा विकास गर्ने प्रयत्नमा उनीहरू जुटेको खुलेको छ।

कम छैनन् नेपाली पनि
ब्युरोका अनुसार लागुऔषध करोबारमा सबैभन्दा धेरै नेपालीको संलग्नता रहेको पाइएको छ । पाँच वर्षयता १५ हजार ५ सय ४९ लागुऔषधका कारोबारी पक्राउ परेका छन् । त्यसमध्ये १४ हजार ८ सय ३९ कारोबारी नेपाली छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.