|

काठमाडौं : पूर्वी नेपालको एक गाउँ, जहाँ लिम्बू समुदायको बाक्लो बस्ती छ। लिम्बू समुदायको बस्ती भएको यो गाउँमा अन्य समुदायका मानिस पनि उनीहरूसँगै घुलमिल भएर उनीहरूकै संस्कार संस्कृतिमा रमाउने गरेका छन्।

उनीहरूको संस्कृतिको च्याब्रुङ नाच, धान नाचलाई अन्य समुदायका मानिसहरूले पनि मान्ने गरेका छन्। यही संस्कृतिलाई अँगाल्दै हाट बजारमा पनि धान नाच्छन्। माग ७ गतेदेखि मण्डला थिएटरमा प्रदर्शन भइरहेको नाटक चिसो भञ्ज्याङनाटकमा यो सबै दृश्य समावेश छ, जसमा पूर्वी नेपालमा बसोवास गर्ने लिम्बू समुदायको संस्कार र संस्कृतिलाई देखाइएको छ।

यो समुदाय मेला, हाट बजारको सौखिन हुन्छ। पूर्वका बजारमा चल्ने खाजा भनेकै जाँड हो। पाहुनाको सत्कारका लागि पनि जाँड प्रयोग हुन्छ। हाट बजारमा पनि जाँडको व्यापार राम्रै हुन्छ। पहिलो पटक सन्दीप श्रेष्ठद्वारा निर्देशित नाटक चिसो भञ्ज्याङमा पनि यही संस्कारलाई देखाउने प्रयास गरिएको छ।

निम्न वर्गले भोग्नुपरेको पीडा नाटकमा

नाटकको सुरुवात हुन्छ, भञ्ज्याङको एक मेलाबाट। पूर्वमा लाग्ने मेलामा प्रेमी प्रेमिकाको बाक्लै उपस्थिति हुन्छ। त्यो भञ्ज्याङमा लाग्ने मेलामा पनि त्यस्तै भीड हुन्छ। मेलाको मुख्य आकर्षक हुन्छ, कोदोको जाँड। लिम्बू समुदायको जन्मँदादेखि मत्युसम्मको संस्कारका लागि जाँड चाहिन्छ। सगुनको रूपमा लिम्बूका देवता माङलाई पनि जाँड नै चढाउनुपर्छ। लिम्बू संस्कृतिको संस्कारबारे जान्नका लागि चिसो भञ्ज्याङएउटा सानो माध्यम हुनसक्छ।

नाटकमा निम्म वर्गले समाजमा भोग्नुपरेको आर्थिक तथा सामाजिक उत्पीडनलाई समावेश गरिएको छ। निम्न वर्गले सधैँ उपल्लो वर्गबाट शोषित हुनुपरेको पीडा नाटकमा छ। भञ्ज्याङको मेलामा जाँडले मातेर लठ्ठै भएका युवाको बाक्लै भीड हुन्छ। मेलामा युवायुवतीले च्याब्रुङसँगै धान नाच पनि नाच्छन्। नाटकमा त्यो संस्कृति देखाउँदा देखाउँदै पनि एक युवा र युवतीको प्रेम कथालाई बेजोडका साथ देखाइएको छ।

गाउँमा एक जमिन्दार हुन्छन्। उनी हुन्, बाबुसाहेब (रोशन सुवेदी)। गाउँका शासकको रूपमा उनी परिचित हुन्छन्। गाउँलेलाई ऋण दिने र दोब्बर उठाउने गर्छन् उनी। उनले लिम्बू समुदायका सोझा मानिसलाई ठग्छन् र उनीहरूको जग्गाबाट उठेको सबै बाली लैजान्छन्। यतिले पनि नपुगेर जग्गै हडपेर सुकुम्वासीसम्म बनाइदिन्छन्। उनका तीन छोरी हुन्छन्, जेठी मुना (सविना गोपाली), माइली कमला(दीपिका ढकाल) र कान्छी गरिमा (पूजा लामा)।

उनको घरमा काम गर्ने भद्रे बा( विकास पन्त) का छोरा हुन्छन् आलोक(अनुप न्यौपाने)।  आलोक र मुनाबीच प्रेम बस्छ। आलोक गरिब परिवारका छोरा, मुना धनी बाबु साहेबकी छोरी। आलोक शहर बसेर सामान्य चिकित्सा विषय अध्ययन गर्दै छन्। उनी गाउँमा आएको समयमा चिसो भञ्ज्याङमा मेला लाग्छ। त्यो मेलामा आलोक र मुनासँगै सबै गाउँले पनि जान्छन्।

शहर पढ्दै गएका ओम (प्रतीक दुलाल) पनि गाउँ आएका हुन्छन्। उनले कमलालाई शहरको रहर देखाउँछन् र शहर लैजाने भन्छन्। मेलामा धान नाच्न सुरु हुन्छ। त्यही समयमा ओमले कमलालाई भगाउँछन्। सबैले कमलालाई खोज्नतर्फ लाग्छन्। तर मध्यरातमा ओमबाट कमला बलात्कृत हुन्छिन्। त्यो दोष भने आलोकले पाउँछन्। त्यसपछि आलोकको जीवनमा नयाँ मोड सुरु हुन्छ।

यसपछि नाटकमा के हुन्छ भन्ने कौतूहल मेटाउनका लागि भने नाटक नै हेर्नुपर्ने हुन्छ।

माओवादी जनआन्दोलन पनि नाटकमा

मओवादी आन्दोलनलाई नाटकले समेट्ने प्रयास गरेको छ। शासकहरूले राज गर्दै गरिब दु:खीलाई पीडित बनाउँछन्। शासकको दु:ख सहन नसकेपछि केही पीडितले विद्रोह सुरु गर्छन्। त्यो विद्रोहले आन्दोलनको रूप लिन्छ। चिकित्सा पढ्दै गरेको युवा आफूले नगरेको कुकर्मको आरोपमा परेपछि जनआन्दोलनमा होमिन्छन्।

उनी मात्र होइन, उनी जस्ता धेरै युवायुवतीहरू यस्तै अन्यfयमा परेर आन्दोलनमा होमिन्छन्। आन्दोलनमा केही घाइते भए। कतिले ज्यानै गुमाए। यसलाई पनि नाटकले एक घण्टाभित्रमा देखाउन सफल भएको छ।

समेट्न बाँकी कुराहरू

नाटक उत्कृष्ट हुँदाहुँदै पनि केही विषयको प्रस्तुतिमा ध्यान नदिएको जस्तो देखिन्छ। नाटकको सुरुवातमा नाटकको विषय फरक जस्तो भए पनि अन्तिममा गएर माओवादी आन्दोलनमा पुगेर टुंगिन्छ। बालमनोविज्ञान, प्रेमकथा र माओवादी जनयुद्धलाई एकै स्टेजबाट देखाउने प्रयास छ यस नाटकमा। फरक तीन सन्दर्भ जोडिएको हुँदा नाटक कतै बहकिएको र प्रसंग मोडिएको जस्तो पनि देखिन्छ।

जनयुद्धको विषय नौलो पनि होइन। यो विषयमा यसअघि पनि धेरै चलचित्र तथा नाटक बनिसकेका छन्। पूर्वमा रहेका जनजातिभित्रको लिम्बू समुदायको संस्कृतिलाई समेटेर बनाएको भए यो नाटक अझै सान्दर्भिक हुने थियो। तर आन्दोलनमा ल्याएर जोडेपछि नाटक केही खल्लो भएको जस्तो देखिन्छ। नाटकमा आन्दोलनका कुरा समावेश हुँदाहुँदै पनि शान्ति प्रक्रिया र त्यसपछि समाजमा आएको परिवर्तनलाई भने नाटकमा कहीँ पनि देख्न पाइँदैन।

नाटक तथा चलचित्रले समस्या देखाउने र समस्या सँगसँगै समाधानको पाटोको खोजी पनि गर्नुपर्छ। तर, यो नाटकले भने सुरुदेखि अन्तिमसम्म समस्या मात्र देखाउँछ, समाधानका उपाय भने कहीँ पनि देखिँदैन। तर, नाटकमा कलाकारले गरेको भूमिका भने उत्कृष्ट छ। एउटै स्टेजबाट एउटा कलाकारले विभिन्न भूमिकामा अभिनय गर्नु सामन्य कुरा होइन।

नाटकमा अनुप न्यौपाने, पूजा लामा, सविना गोपाली, दीपिका ढकाल, रोशन सुवेदी, बारात लिम्बू, सञ्जीव राई, विकास पन्त, सीता राना मगर, सगुन पोखरेल, उदय लिम्बू, विवेक रसाइलीअनुजा अधिकारी, समापिका गौतम र प्रतीक दुलालले अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.