|

काठमाडौं : वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन–मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो।

चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही समयमा व्यापार घाटा तीन खर्ब ५१ अर्ब ६७ करोड थियो। मुलुकको निर्यातभन्दा आयात उच्च वृद्धि भएपछि व्यापारको खाडल बर्सेनि बढ्दै गइरहेको छ। यो वर्षभरि व्यापार घाटा १० खर्ब हाराहारीमा पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको छ।

पाँच महिनामा विभिन्न मुलुकबाट चार खर्ब ३२ अर्ब ४८ करोडको वस्तु नेपाल भित्रिएको छ। सोही अवधिमा नेपालबाट ३३ अर्ब ७२ करोडको वस्तु निर्यात भएको छ। गत वर्षको पाँच महिनामा तीन खर्ब ८२ अर्ब २७ करोडको वस्तु भित्रिएको थियो भने ३० अर्ब ६० करोडको वस्तु निर्यात भएको थियो। यो अवधिमा आयात ५० अर्बले वृद्धि हुँदा निर्यात तीन अर्बले मात्र बढेको विभागको तथ्यांकले देखाउँछ।

विभागका अनुसार पाँच महिनामा चार खर्ब ६६ अर्ब २० करोडको कुल व्यापार (आयात–निर्यात) भएको छ। कुल व्यापारमा आयातको हिस्सा ९२.८ प्रतिशत र निर्यातको हिस्सा ७।२ प्रतिशत छ। गत वर्षको यही समयमा चार खर्ब १२ अर्ब ८८ करोडको व्यापार भएको थियो। बढ्दो रेमिट्यान्स आप्रवाहसँगै नेपालीमा किनेर खाने प्रवृत्ति विकास भएपछि आयात बर्सेनि उच्चदरमा वृद्धि भइरहेको छ।

पाँच महिनाको अवधिमा ६१ अर्ब २० करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ। यस्तै, ४३ अर्ब नौ करोडको फलाम तथा स्टिलजन्य वस्तु भित्रिएको छ। मेसिनरी तथा पार्टपुर्जा ४० अर्ब ९५ करोड, सवारीसाधन ३५ अर्ब ५८ करोड र इलेक्ट्रिक सामान २९ अर्ब ६६ करोडको भित्रिएको विभागले जनाएको छ।

सोही अवधिमा तीन अर्ब ७१ करोडको चिया तथा कफी निर्यात भएको छ। हस्तकला तीन अर्ब १९ करोड, कार्पेट दुई अर्ब ९७ करोड, लत्ताकपडा दुई अर्ब ८४ करोड, फलाम तथा स्टिल एक अर्ब ९६ करोडको निर्यात भएको छ। नेपालबाट निर्यात हुने प्रमुख वस्तुकै अवस्था दयनीय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.