|

काठमाडौं : एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन्।

बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिए। कार्यदल गठनपूर्व दुई अध्यक्षबीच वैचारिक कार्यदिशामा सहमति गर्ने निष्कर्षमा नेताहरू पुगेको पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए।

‘गृहकार्य अलिक पुगेन, थप छलफल गर्न हामीले अर्को बैठकसम्मका लागि समय लिएका हौं। पार्टी एकतामा कुनै विवाद र विमति छैन, वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल हुन्छ र त्यसपछि मात्रै कार्यदल गठन हुन्छ’, उनले भने।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ओली(दाहालबीच फेरि छलफल भएपछि मात्र कार्यदल गठन हुने बताए। ‘दुई अध्यक्षबीच छलफल गरी वैचारिक र राजनीतिक विषयमा सहमति गर्ने कोसिस हुन्छ, त्यसपछि मात्रै अभिलेखन गर्न र थप सल्लाह–सुझाव लिन कार्यदल गठन गर्ने निष्कर्षमा हामी पुगेका छौं’, उनले भने, ‘त्यसपछि कार्यदलले तयार पार्ने दस्तावेज एकता संयोजन समितिबाट अनुमोदन गरिनेछ।’

संयोजन समितिका अर्का सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार वैचारिक र संगठनात्मक 'मोडालिटी' तय गर्न गठन गरिने कार्यदलको अवधारणा बैठकले टुंगो लगाएको छ। ‘कार्यदलले के-कसरी काम गर्ने अवधारणा तयार भएको छ’, उनले भने, ‘केही गृहकार्य नपुगेकाले कार्यदल गठन भएन। अब बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गर्ने तथा संगठनात्मक संरचना र सिद्धान्तबारे निर्णय लिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.