सबै गाउँमा सडक नपुगेसम्म गाडी नचढ्ने नगर प्रमुखको उद्‍घोष

|

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका-१० को रुरुबन्चुमा गाडी पुगेको छ। स्थानीय तहको सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पुर्‍याएको हो।

स्थानीय तहबाट ३२ लाख रुपैयाँ विनियोजन गरेर चिल्लायादेखि निकै विकट रूपमा चिनिएको रुरुबन्चुसम्म ८ किलोमिटर सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो।

तिलागुफा नगरपालिका निकै विकट रूपमा रहेको गाउँमा आफ्नो पहिलो प्राथमिकता गाडी पुर्‍याउने रहेको र त्यो कामलाई सार्थकता दिन आफूले निकै मिहिनेत गरेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘नगरपालिका भित्रको निकै विकट गाउँ रुरुबन्चु  हो।’ उनले भने, ‘यहाँ गाडी पुर्‍याइएको छ। यहाँका मानिसहरूले भारी बोक्ने दिन अब हटेका छन्।’

रुरुबन्चु पर्यटकीय हिसाबले निकै महत्व रहेको यहाँको विकासका हिसाबले निकै पछाडि रहेका कारणले स्वास्थ्य शिक्षा र सडकलाई पहिलो प्राथमिकतामा राखेको प्रमुख शाहीले बताए। ‘शिक्षा स्वास्थ्य र सडकका हिसाबले निकै पछाडि रहेको गाउँमा सडक आइपुगेको छ।’ उनले भने, ‘सडकसँगै स्वास्थ्य शिक्षामा जोडिन जरुरी रहेको छ।’

२ सय घरपरिवार रहेको रुरुबन्चुका गाउँमा मानिसको आयआर्जनको मुख्य पेसा कृषि, पशुपालन र जडीबुटी रहेको त्यो व्यापार गर्न बजारसम्म पुर्‍याउन सडकले सहज बनाएको वडा अध्यक्ष मुनबहादुर थापाले बताए। ‘यहाँका मानिसको मुख्य पेसाका रूपमा कृषि पशुपालन र जडीबुटीको व्यापार रहेको छ।’ उनले भने, ‘सडक निर्माण भएपछि त्यसको सहज व्यापार हुनेछ।’

रुरुबन्चुको गाउँका सबै घरपरिवारको स्याउ बगैँचा रहेको सडक नहुँदा स्याउ कुहिएर जाने गरेकोमा अबका दिन सडकले स्याउलाई बजारमा लैजान आपूmहरूलाई सहज हुने स्थानीय नरबहादुर रोकायाले बताए। ‘हाम्रो गाउँमा स्याउको बगैँचा सबै जनाका छन्।’ उनले भने,‘स्याउ राम्रो फल्ने भए पनि आम्दानी लिन सकेका थिएनौं। अब गाडीमा नै स्याउ विक्री गर्छौं।’

नगरपालिकाका सबै गाउँमा सडक नपुगेसम्म गाडी चढ्दिनँ : नगर प्रमुख

तिलागुफा नगरपालिकाका नगर प्रमुख रतनबहादुर शाहीले नगरपालिका भित्रका सबै वडाभित्र सडक नपुर्‍याएसम्म आफूले गाडी नचढ्ने बताएका छन्। नगरपालिका केही गाउँहरूमा पनि अहिले मानिसहरूले भारी बोकेर नै हाट बजार गर्नुपर्ने भएका कारणले आफूले सबै जनताको पिठ्युँबाट भारी हटाएर मात्र गाडी चढ्ने बताएका हुन्।

नगरपालिकाभित्र सबै वडामा आफूले सडक पुर्‍याउने लक्ष्य लिएको र त्यसका लागि केही वडाहरूमा यसै आर्थिक वर्षमा सडक निर्माण गरिसक्ने र केही वडामा अर्को आर्थिक वर्षमा सडक निर्माण गरिसक्ने नगर प्रमुख शाहीले बताए। ‘केही वडामा यो आर्थिक वर्षमा सडक निर्माण गर्ने लक्ष्य लिइएको छ।’ उनले भने,‘केही वडामा अर्को आर्थिक वर्षमा सडक निर्माण गर्ने लक्ष्य राखेका छौं।’

नगरपालिका भित्रका सबै वडाहरूमा सडक नपुर्‍याएसम्म आफूले गाडी चढ्ने लक्ष्य पनि नलिएको नगर प्रमुख शाहीले बताए। ‘मेरो नगरपालिका भित्रका केही वडाका मानिसहरूले अहिले पनि भारी बोकेर हाटबजार लगायतका ठाउँमा हिँड्नुपरेको छ।’ शाहीले भने,‘त्यसले नगर भित्रका सबै वडामा गाडी पुर्‍याएर मात्र गाडी चढ्ने लक्ष्य लिएको छु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.