|

जनकपुरधाम : नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन्। सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो।

सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा रहेको पाइएको छ। सप्तरीको कोशी नदीदेखि रौतहटसम्म दुई हजार दुई सय ७० वटा ठूला, साना र मझौला पिलर गाडिएका थिए। तर सर्वेक्षणका क्रममा ५० प्रतिशत पिलर नभेटिएको र २० प्रतिशत जिर्ण रहेको नापी विभाग काठमाडौंका सर्वेक्षक रञ्जन ढुंगानाले जानकारी दिए।

सप्तरीदेखि धनुषासम्म गाडिएका १५ सय २९ पिलरमध्ये जंगी, प्रमुख, मझौला, साना, 'सवसिडरी' र 'आइरन' पिलर छन्। सर्वेक्षणमा जंगे पिलर १० देखि १५ वटासम्म मात्र भेटिएका छन्। सीमामा रहेको दशगजा क्षेत्रमा मुसहर तथा विभिन्न जातिको बसोबास भएपछि पिलरहरू भाँचिएको र कतिपय उपयोगविहीन भएको भारतको तर्फबाट नापी विभागका सर्वेक्षक धनसिंह अश्वालले बताए।

कतिपय पिलरहरू नदीमा आएको बाढीले बगाउँदा बालुवा–माटोले पुरिएको र कतिपय पिलर मानिसले उखेलेर फालिदिएको कारण पिलरहरू पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। अब 'सब्सिडरी पिलर' बनाइने छ। यो पिलर २।४ मिटरको हुनेछ। यसको आधा भाग जमिनमुनि गाडिने छ।

सीमा सर्वेक्षणका लागि मेचीदेखि महाकालीसम्म छुट्टाछुट्टै चारवटा टोली खटिएका छन्। पुस १० गतेबाट सप्तरीदेखि चितवनसम्मको सर्वेक्षण थालिएको टोली नम्बर २ ले कोशी नदीको २ सय ११ नम्बरको प्रमुख पिलरदेखि सुरु गरेको सर्वेक्षण चितवनको ३ सय ५६ नम्बरको पिलर सम्म सर्वेक्षण गर्ने जिम्मेवारी पाएको छ।

माघ ६ भित्र आआफ्ना टोली प्रमुख समक्ष प्रतिवेदन बुझाउने छन्। त्यसपछि दुवै देशका अधिकारीको उपस्थितिमा नयाँ पिलर गाडिनुका साथै जिर्ण पिलरको ममर्त सम्भार गरिने सर्वेक्षकहरुको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.