|

काठमाडौं : संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ। राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको छ। विगतको अभ्यासअनुसार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै कार्यसञ्चालन नियमावली आवश्यक पर्ने, तल्लो र माथिल्लो सदनको संयुक्त बैठक सञ्चालन गर्न अर्को नियमावली बनाउनुपर्ने सचिवालयले जनाएको छ।

संसद्ले नियमावली बनाउन समिति गठन गर्ने गर्छ। तर, समितिको काम छिटो सम्पन्न गर्न र नियमावलीलाई चाँडो अन्तिम रूप दिन सचिवालयले सहजीकरणको भूमिका मात्र निर्वाह गरिरहेको सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए। ‘हामीले विगतको अभ्यासलाई हेरेर खाका तयार गरेर सहजीकरण गर्ने मात्रै हो। कस्तो नियमावली बनाउने भन्ने सम्पूर्ण जिम्मेवारी सांसदहरू सम्मिलित समितिको हो,’ उनले भने।

संविधान जारी भइसकेपछि रूपान्तरित संसद्को कार्यसञ्चालन नियमावली पारित हुन नौ महिना लागेको थियो। संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुने वा पुरानै व्यवस्थाअनुसार ७५ सदस्यीय बनाउने भन्नेलगायतका विवाद थिए। दलीय विवादले पुरानै कार्यसञ्चालन नियमावलीबाट लामो समय संसद् चलेको थियो। नयाँ संविधानअनुसार निर्माण हुने संघीय संसद् सञ्चालनको नियमावली चाँडो बनोस् भन्ने उद्देश्यले आफूहरूले खाका तयार पारेर सहजीकरणको भूमिका निर्वाह गरेको सचिवालयले जनाएको छ।

समिति थपघट हुँदै

विघटित संसद्का एक दर्जन बढी स्थायी समिति थिए। ६०१ सदस्यीय एक सदनात्मक संसद्का सदस्य संख्याको आधारमा धेरै समिति बनाइएका हुन्। ३३४ सदस्यीय संघीय संसद्मा भने यो संख्या केही घट्नेछ। संघीय संसद दुई सदनात्मक हुने भएकाले सांसद संख्याकै आधारमा यसअघिको संविधानसभा र व्यवस्थापिका संसद्सँग तुलना गरेर समिति नघट्ने संसद् सचिवालय स्रोतले बतायो।

प्रतिनिधिसभामा सात र राष्ट्रिय सभामा तीन गरी कम्तीमा १० समिति आवश्यक पर्ने सचिवालयको निष्कर्ष छ। दलीय सहमति र आवश्यकताका आधारमा समितिको संख्या थपघट हुनसक्ने जनाइएको छ। यसअघिको संसदमा राज्यव्यवस्था, सार्वजनिक लेखा, संसदीय सुनुवाइ विशेष समिति, वातावरण संरक्षण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम, विधायन, सुशासन तथा अनुगमन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति, महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समिति, विकास समिति, कृषि तथा जलस्रोत, अर्थ, सामाजिक न्याय तथा मानवअधिकार समिति स्थायी समिति थिए।

प्रतिनिधिसभा हल अन्तिम चरणमा
संसद् सचिवालयले यसअघि पुस मसान्तभित्र प्रतिनिधिसभाको हल तयार हुनेगरी काम अघि बढाए पनि केही दिन लम्बिने भएको छ। संसद् बस्नसमेत समय लाग्ने भएकाले प्रतिनिधिसभा हलको फिनिसिङको काम हतारमा नगरिने सचिवालयले जनाएको छ। जसअनुसार माघको दोस्रो सातासम्म प्रतिनिधिसभाको हल तयार भइसक्नेछ। सचिवालयका अनुसार राष्ट्रिय सभा हल निर्माण कार्य धमाधम अघि बढेको छ। ५९ सदस्यीय राष्ट्रिय सभाहल ८० रातो रंगको कुर्सीसहित २२० सिट क्षमताको र प्रतिनिधिसभाहलमा भने निलो रंगको ३४४ वटा सिट रहनेछन्।

संविधानसभाको डकुमेन्ट्री बन्ने
संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ। पहिलो र दोस्रो संविधानसभाको करिब ३०-३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ। यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.