|

काठमाडौं : विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ 

‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको कुनै तुक नरहेको भन्दै सीटीजीआईले पश्चिम सेती समन्वय गरिरहेको लगानी बोर्डलाई अघिल्लो साता पत्राचार गरेपछि दुई दशकभन्दा बढी प्रतीक्षित आयोजना विघटनको संघारमा पुगेको छ। गत अक्टोबरमा लगानी बोर्डले सीटीजीआईले निर्माण तालिका र समय उल्लेख गर्दै ‘कार्य योजना’ छिटो पेश गर्न पत्राचार गरेको थियो।

उक्त पत्रको जवाफ दिँदै सीटीजीआईले प्रमुख रूपमा दुई वटा विषयमा सरकारले निर्णय गर्न नसकेको भन्दै आयोजनाबाट विमुख हुन लागेको हो। उसले लेखेको पत्रानुसार हाल विद्युत् प्राधिकरणले कायम गरेको जलाशययुक्त आयोजनाको विद्युत् खरिद दर र उसले हालसम्म गर्दै आएको खर्चको पुँजीकरणलाई मुख्य मुद्दा बनाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

उनका अनुसार हाल प्राधिकरणले लागू गरेको भनिएको जलाशययुक्तको विद्युत् खरिद सम्झौता (पीपीए) दरले आयोजना पश्चिम सेती ‘लगानीयोग्य नहुने’ दाबी सीटीजीआईको छ। त्यसैगरी अर्को मुख्य चासोका रूपमा रहेको उसले हालसम्म गरेको ८० करोड रुपैयाँ लगानीलाई राष्ट्र बैंकले पुँजीकरण नगरिदिएकाले समस्या परेको उल्लेख छ।

कात्तिक ३० गते विद्युत् प्राधिकरणसँग संयुक्त लगानी सम्झौता (जेभीए) गरेको सीटीजीआईले प्राधिकरणलाई सोध्दै नसोधी पीपीए दरबारे लगानी बोर्डलाई पत्राचार गरेको हो। प्राधिकरणले लागू गरेको पीपीए दर परिवर्तन गर्न नसकिने र उक्त दरभन्दा बाहिर गएर प्राधिकरणले पीपीए गर्ने सम्भावना र लचकता नदेखाएकाले पश्चिम सेती लगानी अयोग्य रहेको निष्कर्षमा सीटीजीआई पुगेको हो।

प्राधिकरणले हाल लागू गरेको जलाशययुक्त (विदेशी र स्वदेशी दुवै आयोजनाका लागि) हिउँदमा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ७ रुपैयाँ १० पैसा छ। यसमा पनि ५० प्रतिशतभन्दा बढी वर्षायामको ऊर्जा भयो भने जति प्रतिशतले कमी भएको हो त्यति नै पीपीए दरमा कमी आउने प्राधिकरणको नीति छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.