|

काठमाडौं : दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८.२०३ केजी कोकिन बरामद गरेपछि यो तथ्य खुलेको हो। सो परिमाणको कोकिन तेस्रोपटकको 'अप्रेसन' पछि बरामद गरेको ब्युरोले जनाएको छ।

करिब साढे १६ करोड मूल्यको कोकिन बरामद
प्रहरीले एक वर्षभित्र बरामद गरेको आठ केजी कोकिनको अनुमानित मूल्य १६ करोड ४० लाख ६० हजार रुपैयाँभन्दा धेरै पर्छ। बरामद गरिएका सबै कोकिन नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै युरोप लैजान लागिएको प्रहरीको भनाइ छ। ब्युरो प्रमुख डीअाईजी ठूले राईले बोलिभियाको लागुऔषध कोकिन नेपाल हुँदै तेस्रो मुलुक लैजाने गरेको तथ्य भेटिएको बताए। ‘एक वर्षभित्र तीनवटा कोकिन कारोबारी पक्राउ भए, सबैमा बोलिभियन नागरिक संलग्न भएको पाइयो। ती कोकिन बोलिभियाबाटै आउने र युरोप जाने गरेको भेटिएको छ,’ उनले भने।

ब्राजिल हुँदै नयाँदिल्लीबाट नेपाल आउँछ कोकिन
प्रहरीका अनुसार कारोबारीले बोलिभियन लागुऔषध युरोप लैजान ब्राजिल, इथोपिया, भारतको दिल्ली, नेपाल र थाइल्याण्डको रुट प्रयोग गर्ने गरेका छन्। बिहीबार ठमेलबाट पक्राउ परेका बोलिभियन नागरिक ममनी अन्डाई बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, भारतको नयाँदिल्ली हुँदै नेपाल आएका थिए। थाई नगरिक खुलन्जाई खनरतमार्फत करिब दुई केजी कोकिन थाइल्याण्ड लैजाने तयारीमा थिए।

थाइल्याण्डबाट सो कोकिन युरोप लैजान लागिएको प्रहरीको भनाइ छ। ‘ठमेलबाट बरामद कोकिन बोलिभियाबाट ब्राजिल हुँदै इथोपिया, नयाँदिल्ली हुँदै नेपाल ल्याएर थाइल्याण्डको बाटो भएर युरोप लैजाने तयारी रहेको अनुसन्धानबाट खुलेको छ,’ ब्युरो प्रमुख डीअाईजी राईले भने।

बोलिभियाबाट नेपाल ल्याएको कोकिनको ज्याला तीन लाख
बोलिभियाबाट नेपालसम्म कोकिन ल्याउँदा लागुऔषध कारोबारीले तीन हजार अमेरिकी डलर अर्थात् तीन लाख रुपैयाँ ज्याला लिने गरेको खुलेको छ। बिहीबार ठमेलबाट बरामद भएको करिब दुई केजी कोकिन बोलिभियाबाट नेपालसम्म ल्याउँदा आफूले तीन हजार डलर शुल्क लिएको बयान फ्रेडी ममनी अण्डाईले ब्युरोलाई दिएका छन्। बोलिभियाबाट लागुऔषध तस्करले सात दिनमा नेपालसम्म कोकिन ल्याइपुर्‍याउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.