|

भद्रपुर : ग्रेडिङ प्रणालीप्रति असन्तुष्टि जनाउँदै झापा भद्रपुरका विद्यार्थीहरूले शुक्रबार जिल्ला शिक्षा कार्यालय झापा घेराउ गर्दै तालाबन्दी गरेका छन्। तालाबन्दी गर्न गएका विद्यार्थीमध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाफलमा ग्रेडिङ प्रणाली लागू गरेको प्रति असन्तुष्ट जनाउँदै त्यसको विरोधमा वीरेन्द्र, एमरेल्ड एकाडेमी र विभूति क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले एक घण्टा शिक्षा कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन्। वीरन्द्र क्याम्पसमा भेला भएका विद्यार्थीहरूले ग्रेडिङ प्रणालीविरुद्ध चर्को नाराबाजी गर्दै बिहान १० बजे शिक्षा कार्यालय परिसर पुगेका थिए। 

शिक्षा कार्यालय पुगेका विद्यार्थी समूहले कार्यालयको मूल गेटमा तालाबन्दी गरेका थिए। विद्यार्थीको समूहले शिक्षा कार्यालय घेराउ गरेपछि प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विद्यार्थीहरूलाई मूल गेटभन्दा बाहिर निकालेका थिए। 

विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेका थिए। कार्यायलमा तालाबन्दी गरेको भन्दै यता प्रहरीले विरोध कार्यक्रमको नेतृत्व गर्ने नेविसंघ वीरेन्द्र क्याम्पस इकाई समितिका सभापति अनुप अधिकारी, सचिव प्रकाश भण्डारी, निकेश श्रेष्ठ र मनोहर गौतमलाई नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिइएका उनीहरूलाई प्रहरी कार्यालय झापा लगेर आधा घण्टापछि छाडिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले गत पुस २९ गते प्रकाशन गरेको कक्षा ११ को नियमित परीक्षाफल विषयगत ग्रेडका आधारमा सार्वजनिक गरेपछि विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन्। 

कुनै विषयमा ‘डी प्लस’ ल्याए पुनः मौका परीक्षा दिने व्यवस्था छ। तर, एक विषयभन्दा बढीमा ‘डी प्लस’ ल्याए अर्को वर्षको परीक्षामा सहभागी हुन पाउने व्यवस्थाप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन्। एक विषय र धेरै विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीको परीक्षा एकै पटक गर्नुपर्ने विद्यार्थीको माग रहेको नेविसंघ वीरेन्द्र क्याम्पस इकाई समितिका सचिव प्रकाश भण्डारीले बताए।

यसका विरुद्ध गठित संयुक्त विद्यार्थी मोर्चाले बुधबार जिल्ला शिक्षा कार्यालय झापामार्फत राष्ट्रिय परीक्षा बोर्डलाई लिखित ज्ञापनपत्रसमेत बुझाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.