कोको छन् प्रहरीको फरार सूचीमा?

|

काठमाडौः कमजोर संरचना र सुरक्षामा हुने लापरवाहीका कारण देशका विभिन्न जिल्लामा रहेका कारगारबाट विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैदी-बन्दी भाग्ने र फरार हुने गरेका छन्। यसको पछिल्लो उदाहरण हो, शनिबार भरतपुरको चितवन नगरपालिका- १ रामनगरमा प्रहरीले गोली हानी नियन्त्रणमा लिएका टीके भनिने टीकाबहादुर थापामगर। उनी माघ ४ गते काठमाडौंको डिल्लीबजार कारागारबाट कैदीको सुरक्षाका लागि बनाइएको फलामको जाली काटेर भागेका थिए।

फिल्मी शैलीमा काठमाडौंमा लुटपाट धन्दा चलाउँदै आएका टीके लुटपाट तथा डकैती मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। रामेछाप दोरम्बा स्थायी घर भएका टीके फरार भएलगत्तै महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो। टीके जस्तै जेलबाट भाग्ने अन्य कैदी पनि रहेका छन्। उनीहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रण लिइसकेको छ भने कुनै अझै फरार सूचीमा रहेका र प्रहरीले खोजिरहेको छ।

कैदीबन्दी भाग्नुको प्रमुख कारण कमजोर संरचना रहेको कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद आचार्यले बताए। ‘एक त कमजोर संरचना, अर्कोतिर कैदी-बन्दीको चाप कारागारको क्षमताभन्दा बढी छ', उनले भने, 'कैदी-बन्दीको सुरक्षाका लागि बनाइएको पर्खाल नै भत्केला भन्ने डर छ, फलामका जाली खिया लागेर आफैँ जीर्ण भइसकेका छन्।' पुनर्निर्माण गर्न सरकारले बजेट विनियोजन नगरेको र राणाकालदेखि बनेका कारागारहरूमा कैदी राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। त्यसैले गर्दा कैदी-बन्दीलाई भाग्न सजिलो भएको आचार्यले बताए।

कारागार व्यवस्थापन विभागका अनुसार पहिला पनि विभिन्न समयमा कारगारबाट भाग्ने गरेका घटनाहरू छन्। तर आर्थिक वर्ष २०७३/०७४ देखि देशभरका कारागारबाट भान्नेहरूको तथांक राख्ने गरिएको छ। हालसम्म विभिन्न जिल्लाका कारागारबाट भाग्नेहरूको संख्या छ जना पुगेको छ। यसअघि कारगारबाट भाग्नेहरूको तथ्यांक नरहेको कारागार व्यवस्थापन विभागका निर्देशक आचार्यले बताए। कारागारबाटै कैदी-बन्दी भाग्ने गरेपछि सुरक्षार्थ खटिएका प्रहरीमाथि नै प्रश्न उठ्ने गरेको छ। तर नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपाने भने सुरक्षालाई दोष दिन नमिल्ने भन्दै कैदी भाग्नुको प्रमुख कारण कैदीको अापराधिक मानसिकता भएको बताउँछन्। त्यसमा कमजोर संरचनाले साथ दिएको उनकाे भनाइ छ। नेपालका कारगारहरू जीर्ण भइसकेकाले त्यहाँ कैदीलाई प्रहरीकै सुरक्षाकै भरले मात्र राखिएको उनले बताए।

यी हुन् फरार सूचीमा रहेका विभिन्न कारागारबाट भागेका कैदीहरू

बलबहादुर शाही : कालीकोट महावै गाउँपालिकाका हेमन्त भनेर चिनिने बलबहादुर शाही अपहरण र कर्तव्य ज्यान मुद्दामा आठ वर्षदेखि जिल्ला कारागार कालीकोटमा जेल सजाय भोगिरहेका थिए। २०७३ चैत १२ मा बजारमा सामान किन्न गएका बेला प्रहरीलाई झुक्याउँदै उनी फरार भएका हुन्। लामो समयदेखि जेल जीवन भुक्तान गर्दै आएका शाहीको जेल सजाय २०७४ जेठमा सकिँदै थियो। हाल उनी फरार रहेका छन्।  

पुन्नबहादुर शाही :  काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागारमा जबर्जस्ती करणी मुद्दामा जेल जीवन बिताउँदै आएका पुन्नबहादुर शाही २०७४ मंसिर ४ मा जेलको पर्खाल नाघेर भागेका थिए। मध्यराती प्रहरीकै ब्यारेकको छत हुँदै उनी दक्षिणतर्फको पर्खाल नाघेर भागेका हुन्। उनी एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा २०६५ सालदेखि जेल जीवन भुक्तान गर्दै आएका थिए। हाल उनी पनि फरार छन्।

सुरज कोली : जिल्ला कारागार कैलालीमा मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा जेल जीवन भुक्तान गरिरहेका सुरज कोली २०७३ असोज २० मा बजारबाट सामान किन्न प्रहरीसँगै गएका बेला प्रहरीलाई झुक्याउँदै भाग्न सफल भएका थिए। हाल उनी फरार कैदी सूचीमा रहेका छन्।

यी हुन् भागेको केही समयमै पक्राउ पर्ने कैदीहरू

मिलन खड्का : संखुवासभा चैनपुर नगरपालिका- ९ का मिलन खड्का धनकुटा कारागारमा डाका मुद्दामा १६ वर्षे कैद जीवन भुक्तान गर्दै थिए। उनी चौकीदारको रूपमा बजार गएर सबै कैदीका लागि लत्ताकपडा, खाद्य सामग्रीलगायत आवश्यक सामग्री किनेर ल्याउने र जेलमा उत्पादित वस्तु बजार लैजाने काम गर्दै गर्दा २०७३ भदौ ५ मा प्रहरीलाई छक्याउँदै भाग्न सफल भएका हुन्। उनलाई प्रहरीले पछि संखुवासभाबाट पक्राउ गरेको थियो। हाल उनी धनकुटा कारागारमा रहेका छन्।

पुस्कर खड्का : काभ्रे गणेशस्थान घर भई मकवानपुर बस्ने ३४ वर्षका पुस्कर खड्का कास्की कारागारमा अपहरण तथा शरीर बन्धक मुद्दामा जेल जीवन भुक्तान गरिरहेका थिए। उनी २०७३ मंसिर ९ मा दाँतको उपचारका लागि भनेर बाहिर निकालिएका बेला पोखरा न्युरोडको एक होटलबाट प्रहरीलाई छल्दै भाग्न सफल भएका थिए।

मंसिर २३ गते उनलाई कमलपोखरी प्रहरीले पुतली सडकको होटल तिरुपतीमा एक युवतीमाथि जबर्जस्ती करणी गर्ने प्रयास गर्दै गर्दा होटलका कर्मचारीको सहयोगले पक्राउ गर्न सफल भएको थियो। हाल उनी कास्की जेलमै जेल जीवन भुक्तान गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.