सोलुखुम्बु : तल्लो सोलु जलविद्युत् आयोजना (८२ मेगावाट)को कारण तिङ्लाका ८ सय रोपनी खेत सिँञ्चाइबाट वञ्चित भएका छन्। सिँञ्चाइको लागि प्रयोग गरिएका विभिन्न कुलामा आयोजनाले क्षति पुर्याएपछि करिब ८ सय रोपनी खेतमा सिँञ्चाइ गर्न नसकिएको एमालेका स्थानीय नेतासमेत रहेका रामकुमार राईले बताए।
आयोजनालाई बारम्बार स्थानीयले कुलो मर्मतको लागि अनुरोध गरे पनि वास्ता गरेन राईले भने, 'अहिलेसम्म स्थानीयको धैर्यताको बाँध टुटेको छैन, यो बाँध टुट्यो भने आयोजनाले थेग्न गाह्रो हुन्छ।'अहिले हिउँदे खेती भएकाले सिँञ्चाइ अनिवार्य भए पनि कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना बढेको अर्का स्थानीय पूर्णबहादुर खड्काले बताए।
लामोसमयदेखि पानी नपर्नु र सिँञ्चाइ पनि गर्न नसक्दा कृषकले हिउँदे आलु र गहुँ खेतीमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भयो खड्काले भने, 'सिँञ्चाइ नहुँदा गहुँ सकिसक्यो,आलु पनि राम्रो छैन।'
आयोजनालाई बारम्बार सम्झाउँदासमेत वेवास्ता गरेको स्थानीयको आरोप छ। आयोजनाले वातावरणीय प्रदूषणलाई ध्यान नदिएको स्थानीय माओवादी केन्द्रका नेतासमेत रहेका ललित सिंह कार्कीले भने, 'योजनाले काम गर्दा वरिपरिको वातावरणमा कुनै पनि ध्यान दिएन, यसको असर जलवायु परिवर्तनमा परिरहेको छ।'
लामो समयदेखि पानी परेको छैन। सगरमाथाको जिल्ला भए पनि अहिले प्रशस्त हिउँसमेत पर्नसकेको छैन, यसले सबैलाई चिन्तित बनाएको छ, स्थानीय खड्क राईले भने, 'पहिला पुसको पहिलो सातामै तलतलसम्म सेताम्मे हिउँ परेको देखिन्थ्याे अहिले त हिमालमासमेत हिउँ देखिँदन।'
खानेपानीको मुहान दूषित हुनुका साथै अन्य फोहोरजन्य वस्तुसमेत जथाभावी फाल्नाले वातावरण प्रदूषण बढेको स्थानीय हर्कबहादुर राईको भनाइ छ। आयोजनाले सामाजिक उत्तरदायित्वको काम गर्नुपर्ने भए पनि बोल्नसक्ने र आयोजनाका केही व्यक्तिसँग नजिक हुनेलाई मात्र सहयोग गर्ने अन्य सोझासीधा जनतालाई बेवास्ता गर्ने गरेको राईको भनाइ छ।
उनले भने, 'खेतमा सिँचाइको लागि प्रयोग गर्ने कुलो त बिगारीदियो, उता पानीको मुहान उस्तै दूषित बनाइदिएको छ,यसले जनताको स्वास्थ्यमा असर परिरहेको छ।'
आयोजनाको ड्यामस्थलदेखि टनेलसम्म २ सय ५० बढी घरधुरी अति प्रभावितमा पर्छन्। उनीहरूको घर सुरुङमार्ग हुँदै बग्ने खोलाभन्दा तल पर्छ। यता, अयोजनाका कविराज पौडेलले स्थानीयको समस्याको तत्काल सम्बोधन हुने आश्वासन दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।