|

हाम्राे देशमा प्रत्येक वर्ष कक्षा १ मा झण्डै १८ लाख विद्यार्थी विद्यालय भर्ना  हुन्‍छन्। तर त्यसमध्ये ५–६ लाखले मात्रै प्रवेशिका परीक्षा दिन्छन्। अनि बाँकी जनशक्ति वा भनाैं युवा पिँढीले श्रमिक जीवन नबिताए के गर्ने? अब भन्‍नुस्, उपचार विरामीको लक्षणमा गर्ने कि वास्तविक रोगको पहिचान गरी रोगमा गर्ने ?

टाउको दुख्‍ने प्रत्येक विरामीलाई सिटामोलले मात्रै निको नहुन सक्छ। यदि, आँखाको समस्या, रक्तचाप लगायतका रोग छन् भने यसको उपचारको विधि र अाैषधि फरक हुन्छ। अतः देशको सुदुर भविष्यसँग जोडिएको शिक्षा क्षेत्रलाई सफल कार्यान्वयन गर्दै यस खाले दिवसलाई वास्तविक जीवनसँग जोड्नु पर्दछ। अन्यथा, पञ्चायतकालीन परम्परालाई निरन्तरता दिँदै  कर्मकाण्डी ढङ्गबाट मनाइने यस किसिमको शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अर्थ छैन। 

कसरी मनाउने त शिक्षा दिवस?

यस किसिमको दिवसलाई अन्तर्राष्ट्रिय एवं राष्ट्रिय रुपमा ल्याइएका असल अभ्यास एवं परिणाममुखी शिक्षा पद्धति अङ्गिकार गरेर एक अभियानका रुपमा मनाउनु पर्छ। यसका लागि वर्ष दिनभरी अनुसन्धान गरी कार्ययोजना बनाउनु जरुरी छ। समग्र मुलुकलाई नै शिक्षाको दिगो विकासमा सरिक बनाउने योजनासहित मनाउन सकेमात्रै याे दिवस परिणाममुखी बन्‍नेछ। 

अहिले मुलुकले पाएको परिवर्तनलाई भविष्यमा संस्थागत गर्दै आवश्यकता अनुसार सबल जनशक्ति तयार गर्न सकिन्छ। यसै सन्दर्भमा, शिक्षाको वर्तमान आयामलाई समय सापेक्ष व्यवस्थित गर्न औपचारिक रुपमा शिक्षा दिवसको कार्यक्रमका सन्दर्भमा विश्लेषण गर्न वाञ्छनीय देखिन्छ।

१) उत्कृष्ट विद्यालय छनोट सम्बन्धि प्रकाशित शिक्षा मन्‍त्रालयकाे सूचनाका सन्दर्भमा :

प्रत्येक वर्ष उत्कृष्ट विद्यालय छनोट सम्बन्धी गरिने कार्य विधिको निरन्तरताकै आधारमा १९ वटा सामुदायिक, संस्थागत एवं प्राविधिक विद्यालयहरुलाई यसपटक सम्मान तथा पुरस्कृत गरिँदैछ । निर्णित १९ वटा विद्यालयले मुलुकको शिक्षा विकासमा गरेको योगदानप्रति मेरो सम्मान छ। तर, जुन विधिबाट विद्यालय पुरस्कृत भएका छन्, त्यसले यस वर्षको नारामाथि नै प्रश्‍न तेर्साएको छ।  

यस शैक्षिक नारालाई यदि सफल कार्यान्वयन गर्ने हो भने गुणात्मक शिक्षा अपरिहार्य छ। प्रत्येक व्यक्तिको प्रतिभा र क्षमताको प्रस्फुटन गर्ने माध्यम शिक्षा हो। व्यक्तिगत-मानवीय सम्बन्ध र तदनुरुपको वातावरण निर्माण गर्न अन्तर्राष्ट्रियरुपमा प्रचलित अभ्यास अनुरुप शिक्षक-विद्यार्थी अनुपात वैज्ञानिक रुपमा निर्धारण गर्नुपर्ने हुन्छ। असीमित विद्यार्थी संख्या शिक्षा नियमावलीमा गरिएको व्यवस्थाअनुसार अधिकतम ४४ र न्युनतम २२ एवं कम्तीमा उत्कृष्ट विद्यालयका लागि औसत संख्या ४५ राखिनु भेडा बाख्राको व्यवस्थापन गरे सरह हो। तसर्थ यो नियमावली गुणात्मक शिक्षा प्राप्तिका लागि बाधक छ।

विद्यार्थी संख्यालाई अाधार मानेर मात्रै विद्यालयको उत्कृष्टता मापन गर्नु  गुणात्मक शिक्षा र अन्तर्राष्ट्रिय अभ्यास विरपरीत छ। कुनै विद्यालयले १ वा २ सेक्सन विद्यार्थी राखेर प्रत्येक विद्यार्थीलाई चाहिने आवश्यक शैक्षिक वातावरण दिएर उत्कृष्ट नतिजा  निकाल्छ भने उसलाई सम्मान गर्ने वा नगर्ने? यस्ताे नियमावली लागू भएसम्म त्यस्ता विद्यालय कहिल्यै उत्कृष्ट हुन सक्दैनन्।

२) संस्थागत विद्यालय मोडेल:

मुलुकको शिक्षालाई परिणाममुखी बनाउने दिशामा  यस उत्कृष्ट विद्यालय छनौट प्रक्रियाले नकारात्मक भूमिका मात्रै खेलेको छ। उत्कृष्ट सामुदायिक विद्यालयहरुले अहिले अ‌ंग्रेजी माध्यमबाट पढाउने, नियमित रुपमा अतिरिक्त क्रियाकलाप गर्ने, उपलब्ध स्राेत-साधनको अधिकतम उपयोग गर्ने र अतिरिक्त कक्षाा तथा अावासीय सुविधा उपलब्ध गराउने अभियान थालेका छन्। उनीहरुले संस्थागत विद्यालयबाटै सिकेर यस्ताे कार्यविधि अपनाएका हुन्।  संस्थागत विद्यालयले नेपाली समाजमा पारेकाे सकारात्मक प्रभावको यो गतिलाे उदाहरण हो। 

 त्यसैले नेपाली समाजलाई गुणात्मक शिक्षाको माध्यमबाट अघि बढाउने हो भने अभिभावकको भावना र अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखी संस्थागत विद्यालय मोडेलको नीति बनाउनु जरुरी छ। आधुनिक युगमा सफलताप्राप्तिका लागि भाषणभन्दा उपलब्धि र कर्ममा  विश्‍वास गर्नुपर्छ। तर,केही शिक्षाविद् तथा शिक्षाका प्रशासकहरु संस्थागत विद्यालयको उपलब्धिलाई नजरअन्दाज गर्ने, खुइल्याउने र कमीकमजोरीको टीकाटिप्पणी गर्ने होडबाजीमा छन्। यसरी व्यावहारिक र धरातलीय यथार्थतालाई नजरअन्दाज गर्नु  देशकै लागि घातक हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.