|

काठमाडौं : एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लगाएका छन्। सोमबार र मंगलबार लगातार बैठक बसेर उनीहरूले एकीकृत पार्टीको नेतृत्वमा दुवै नेता सहअध्यक्षका रूपमा रहने र सरकारको नेतृत्व पालैपालो गर्ने मोडलमा समझदारी गरेका हुन्।

एकता घोषणापछिको निरन्तर छलफललाई निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै सहअध्यक्ष रहने गरी (एकता महाधिवेशनसम्मका लागि) संक्रमणकालीन मोडलमा सहमति गरेका हुन्।

एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

ओली र प्रचण्डबीच मंगलबार बेलुकी ललितपुरमा साढे दुई घण्टा छलफल भएको थियो । छलफलले एकताको मोडालिटी टुंगो लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘दुई अध्यक्षले पार्टी एकताको मोडालिटी टुंगो लगाउनुभएको छ,’ ज्ञवालीले भने, ‘उहाँहरूबीच भएको अन्तिम समझदारीअनुसार बुधबार एकता संयोजन समितिको बैठक बस्नेछ र सोहीअनुसार निर्णय हुनेछ ।’

पार्टी एकतासँगै प्रधानमन्त्रीका रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्डले कार्यकारी प्रमुखका रूपमा एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेछन् ।

यी हुन् एकता संयोजन समितिका एजेण्डा
एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दै छ । पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेण्डा छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षले एकताको खाकाको टुंगो लगाए पनि बैठकका एजेण्डा जानकारी नगराएको बताए । ‘वार्ताबाट एकताको मोडालिटी टुंगिएको जानकारी भए पनि एजेण्डाबारे कुनै जानकारी दिनुभएको छैन, सबै कुरा संयोजन समितिको निर्णयपछि बाहिर ल्याउने तयारी छ,’ गौतमले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.