|

काठमाडौं : न्यायसम्पादन प्रक्रियालाई लिएर न्यायपरिषदमा दर्ता भएका उजुरीका आधारमा १७ जना न्यायाधीशमाथि छानबिन सुरु भएको छ। परिषद्ले ती न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मि श्रलाई उजुरी जिम्मा लगाएको छ। परिषद् स्रोतका अनुसार मिश्र समितिले उजुरीअनुरूप प्रारम्भिक छानबिन सुरु गरेको छ।

सुरुमा परिषद् सदस्य रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकलाई उजुरी छानबिनको जिम्मा लगाइएको थियो। उनीहरूको अध्ययनपछि छानबिनलाई अन्तिम रूप दिन १७ न्यायाधीशको उजुरीको फाइल न्यायाधीश मिश्रलाई जिम्मा लगाइएको हो।

छानबिन गरिएका न्यायाधीशविरुद्ध परिषदमा फरक–फरक उजुरी थिए। न्यायाधीशको आचरण, आचारसंहिता उल्लंघन, कानुनको गलत व्याख्या, मुद्दामा अनुचित प्रभाव, इमानदारीपूर्वक कर्तव्य पालना नगरेको, सर्वोच्चका नजिरको गलत व्याख्याजस्ता प्रश्न उब्जाउँदै उजुरीमा कारबाही माग गरिएको थियो तर कुनै कारबाही हुने वा नहुने विषयको टुंगो भने छानबिन प्रतिवेदनपछि मात्र लाग्नेछ।

‘कतिपयमा वृत्तिविकास रोक्ने मनसायले आन्तरिक रूपबाटै बेनामे उजुरी परेको देखिन्छ, छानबिन परिपक्व भइनसकेको अवस्थामा प्रतिवेदन आएपछि मात्र के हुने भनेर थाहा होला,’ परिषद् स्रोतले भन्यो, ‘अहिले सबै काँचो अवस्थामा छ।’ स्रोतका अनुसार पछिल्लो छानबिन न्यायपरिषद् ऐन २०७३ को दफा १८ बमोजिम सुरु भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.