|

काठमाडौं : नेपाली कांग्रेसका नेताहरूले पार्टी संसदीय दलको नेता सर्वसम्मतिले चयन गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति प्रकाशमान सिंहले संसदीय दलको नेताका लागि आकांक्षा देखाइरहँदा पार्टीका सांसदहरूले भने सर्वसम्मतिमै दलका नेता चयन गर्नुपर्ने बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बताएका हुन्।  

कांग्रेस सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले देश, जनता र पार्टीको हितका लागि दलको नेता चयनका लागि निर्वाचनमा जान उपयुक्त नहुने बताए। उनले पार्टीलाई एकतावद्ध बनाएर लैजाने सन्देश दिनसमेत प्रतिस्पर्धा नगरी सहमति गर्न नेताहरूलाई आग्रह गरे। 

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले सर्वसम्मतिमै संसदीय दलको नेता चयनका लागि आफूहरूले प्रयास गरिरहेको बताइन। संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने गरी पार्टीलाई एकतावद्ध बनाउन पनि संसदीय दलको नेता सहमतिमा चयन गर्न उपयुक्त हुने भुसालको धारणा थियो। 

कांग्रेसका अर्का नेता मोहम्मद अफताव आलमले संसदीय दलको नेता सर्वसम्मतिमै चयन गर्नुपर्ने बताए। उनले पार्टीले निर्वाचनमा पराजय व्यहोरेको बेला दलको नेता चयनमा विवाद नगर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए। नेता आलमले ५ वर्षभित्र पार्टीलाई पुरानै अवस्थामा फर्काउन पनि दलको नेता चयन सहमतिकै आधारमा गर्न उपयुक्त हुने सुझाव दिए। 

सांसद तेजुलाल चौधरीले जुन नेताको नाममा सहमति हुन्छ, उसैलाई दलको नेता चयन गर्नुपर्ने धारणा राखे। उनले पार्टी कमजोर भएको बेला नेताहरूले दलको नेताका लागि प्रतिस्पर्धा गर्न नमिल्ने बताए। 

कांग्रेस संसदीय दलको निर्वाचन सोमबार हुँदै छ। निर्वाचनका लागि सभापति देउवाले नेतामा आफ्नो दाबी रहेको सार्वजनिक रूपमा घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट पूर्व उपसभापति सिंहले प्रतिस्पर्धा गर्ने सार्वजनिक गरेका छन्। देउवाले दलको नेतामा प्रतिस्पर्धा नगरे महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत दलको नेता बनाउनुपर्ने पक्षमा पौडेल समूह लागेको छ। 

पौडेल पक्षले पार्टीले निर्वाचनमा हार व्यहोरेको बेला देउवाले संसदीय दलको नेतामा दाबी गर्न नहुने तर्क गर्दै आएको छ। नेता चयनलाई लिएर कांग्रेसभित्र सहमति नजुटे मतदान प्रक्रियाबाटै नेतृत्व चयन हुने भएको छ। दलको नेता चयनका लागि प्रतिनिधिसभाका ६३ सांसदले मात्र मतदानमा भाग लिन पाउँछन्। प्रतिनिधिसभामा कांग्रेसका बहुसंख्यक सदस्य सभापति देउवा निकटका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.