|

कालीकोट : जिल्लाको कोटबाडा विमानस्थलमा निर्माण कार्य थालेको ३१ वर्षपछि गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो। तारा एयरलाइन्सको ६ एनएबीएम कल साइनको जहाजले गत वर्षको माघ २९ गते शनिबार सफल परीक्षण उडान भरेको थियो।

कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो । 

२०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल विभिन्न कारणले अलपत्र अवस्थामा थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व कर्णालीका जीवनबहादुर शाहीले सम्हालेपछि उनको पहलमा विमानस्थलमा परीक्षण उडान गरिएको थियो।

शाही मन्त्री रहेकै बेला चाँडै नै विमानस्थल संचालनमा ल्याउन प्रतिबद्धता जनाएका थिए। तर, चाँडै नै उनले सरकारबाट बाहिरिनुपरेका कारण विमानस्थल नियमित संचालनमा ल्याउन समस्या आएको नेपाली कांग्रेस कालीकोटका सहसचिव दमनबहादुर शाहीले बताए। ‘शाही मन्त्री नै भएका बेला नियमित उडान गर्ने तयारी थियो’, उनले भने, ‘चाँडै नै उहाँले मन्त्रीबाट राजीनामा दिनुपरेका कारण त्यो सम्भव भएन।’

२०४२ सालबाट निर्माण थालिएको उक्त विमानस्थलमा एक पटक परीक्षण उडान गरिए पनि नियमित उडान कहिले हुने भन्ने यकिन नभएको नरहरिनाथ– १ का वडाध्यक्ष पुर्थीबहादुर विष्टले बताए। ‘विमानस्थल निर्माण कार्य थालिएको ३१ वर्षमा परीक्षण उडान गरियो’, उनले भने, ‘नियमित उडान कहिले हुने हो, त्यसको कुनै अत्तोपत्तो छैन।’

विमानस्थल निर्माण विगतमा चुनावमा राजनीतिक नारा बनाउने गरेकामा गत वर्ष भएको स्थानीय तहको निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनमा यहाँका राजनीतिक दलहरूले विमानस्थलको नियमित उडान चुनावी एजेण्डा बनाएकामा जितेर गएका र हारेर गएका कसैले पनि नियमित उडानमा ध्यान नदिएको स्थानीय गणेशबहादुर विष्टले बताए। ‘सबैले विमानस्थलाई चुनावी एजेण्डा बनाउने गरेका छन्’, उनले भने, ‘तर जितेर गएपछि अहिलेसम्म कसैले ध्यान दिएका छैनन्।’

कोटबाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि केही पूर्वाधार बन्न बाँकी रहेकाले काम सकिएपछि नियमित उडानका लागि पहल हुने बताए। ‘निर्माणको केही काम हुन बाँकी रहेको छ’, उनले भने, ‘त्यसपपछि मात्र नियमित उडान अगाडि बढ्नेछ।’

जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको कोटबाडा विमानस्थल भएको क्षेत्र साविकका ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिका बनेको छ। यस गाउँपालिकामा सडक पनि छैन। यहाँका बासिन्दा घण्टौँ पैदल हिँड्न बाध्य भएको स्थानीय रामबहादुर विष्टले बताए। ‘सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका हो। अहिलेसम्म सडक पनि बनेको छैन’, उनले भने, ‘यहाँका मानिसहरू सडकसम्म पुग्नका लागि एक दिनको पैदल यात्रा गर्नुपर्छ।’

कोटबाडा विमानस्थलमा निर्माण कार्य थालिएको ३१ वर्षमा एकचोटि विमान झुल्किएको भए पनि फेरि कहिले विमान नियमित हुने हो, त्यसको कुनै ठेगान नभएको स्थानीय रानीपुरा कडायतले बताइन्। ‘३१ वर्षमा एकचोटि विमान झुल्कियो’, उनले भनिन्, ‘त्यो विमान फेरि कहिले झुल्किने हो, कुनै पत्तो छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.