|

कालीकोट : राराताल पर्यटकीय राजमार्गका रूपमा हेरिएको कालीकोटको नाग्मदेखि मुगुको गमगढीसम्मको सडक खण्ड स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ। 

नाग्म-गमगढी सडक खण्ड संचालनमा आएको सात वर्ष बिते पनि स्तरोन्नति हुन नसक्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। नेपाली सेनाले २०६९ पुस १ गतेदेखि यस सडकको ट्र्याक खोलेको भए पनि सडकको स्तरोन्नति नहुँदा दोहोरो गाडी चलाउन मुस्किल हुने गरेको ना४ख ३०७४ नम्बरका ट्रक चालक रामबहादुर कार्कीले बताए। ‘एकतर्फी सडक भएकाले ठूला गाडी चलाउन समस्या हुने गरेको छ’, उनले भने, ‘सडकको राम्रो नहुँदा सवारी चलाउन निकै समस्या छ। एउटा गाडी भेटिएमा लामो दूरीसम्म सवारी साधन पछाडि लैजानुपर्छ।’

नाग्मादेखि गमगढीसम्मको ९४ किलोमिटर सडक खण्डको स्तरोन्नति नहुँदा सडक संचालनमा आएयता एक दर्जन बढी सवारी साधन दुर्घटनामा परेको मुगुरारा नगरपालिका पिनाका विश्वराज बुढाले बताए। उनले भने, ‘सडक संचालन आएयता एक दर्जन सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटनामा सात जनाले ज्यान गुमाइसकेका छन्।’ सडक स्तरोन्नतिका लागि जुम्लास्थित सडक डिभिजन कार्यालयबाट हरेक वर्ष ठेक्का खोल्ने गरेको छ तर ठेकेदारहरूले गुणस्तरीय काम नगरी बजेट सक्ने गरेका छन्। 

नाग्म-गमगढी सडकखण्डलाई आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने ठेक्काको आह्वान गर्ने तयारी भइरहेको सडक डिभिजन प्रमुख अंगलाल रोकायाले बताए। ‘आगामी आर्थिक वर्षमा कालोपत्रेका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘त्यसपछि सडक स्तरोन्नतिको काम हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.