|

कालिकोट : सम्झौताअनुुसार निर्माण सम्पन्न गर्ने मिति पूरा भएको ६ वर्ष बितिसक्दा पनि कर्णाली करिडोरअन्र्तगत कालिकोट खुलालु–हिल्सा सडकखण्डको खुलालुमा अझै पक्की पुल निर्माण कार्य सुरु भएको छैन। ठेकेदार र सडक डिभिजन कार्यालयलको लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको हो।

पुल एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ०६७ मा सम्झौता भएको थियो। निर्माणको ठेक्का कन्काई नेपाल प्रगति जेभीले १४ करोड रुपैयाँमा लिएको थियो। तर, सम्झौता भएको ६ वर्ष पूरा भइसक्दा पनि काम नै सुरु नभएको कालिकोट लालुका शिक्षक नवराज शाहीले बताए। ‘६ वर्षअघि नै सम्झौता भएको भन्ने सुनेका थियौं,’ उनले भने, ‘अहिलेसम्म पनि कुनै काम भएको छैन।’

सडक निर्माणका लागि सुर्खेत सडक डिभिजन कार्यालयले सम्झौता गरेको थियो। तर, त्यो क्षेत्रलाई पछिल्लो समय कर्णाली सडक डिभिजन कार्यालय जुम्लाको मातहतमा लगिएको छ। यसरी सरकारी कार्यालयबीच तालमेल नहुँदा पुल निर्माण अलपत्र परेका पूर्वसभासद् नवराज कोइरालाले बताए। ‘सुर्खेत सडक डिभिजनले ठेक्का लगाएको योजना पछि जुम्ला सडक डिभिजनले काम लियो,’ उनले भने, ‘सरकारी कार्यालयको तालमेल नमिल्दा पुलको योजना अलपत्र परेको छ।’

कन्काई नेपाल प्रगति जेभीले पुल ठेक्का लिए पनि अहिलेसम्म काम थालेको छैन। काम सुरु नगरकाले पटक–पटक ताकेता गरिएको कर्णाली सडक डिभिजन कार्यालय जुम्लाले बताएको छ।

पुल निर्माण सुरु नहुँदा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिव एक किलोमिटर चट्टाने भीर काट्ने काम नेपाली सेनाले सुरु गरेको छैन। पुल नबनेसम्म सेनाले पनि काम सुरु नगर्ने कर्णाली करिडोेर निर्माण कार्यदलको भनाइलाई उद्धृत गर्दै सेनासँगै सडकको काम गर्दै आएका ठेकेदार कालीबहादुर शाहीले बताए। ‘पुल बनेपछि मात्र सेनाले चट्टान काट्ने पक्षमा छ,’ उनले भने, ‘पुल नबनी त्यो भीरको चट्टान काट्न गाह्रो छ।’

पुल निर्माणका लागि लामो समयदेखि विभिन्न कार्यालयमा धाए पनि कसैले चासो नदेखाएको स्थानीय मिनबहादुर शाहीले बताए। ‘पुल निर्माणका लागि धेरै पहल गर्‍यौं।’ उनले भने, ‘त्यसमा कसैले पनि चासो दिएन।’

उक्त पुलको ०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र ०७१ सालमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.