|

कालिकोट : नेपाल सरकारले जुम्लामा लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट बिमित सर्वसाधारणहरूले आफूहरू ठगिएको गुनासो गरेका छन्। नेपाल बिमा कम्पनीहरूबाट सरकारअन्तर्गत  गरिएको स्वास्थ्य बिमा कार्यक्रममा ठगिएको गुनासो गरेका हुन्। 

सरकारले स्वास्थ्य बिमा गरेवापत विमित व्यक्तिलाई दिने स्वास्थ्य सुविधा नदिएको भन्दै जुम्लाका स्वास्थ्य बिमितले बताएका छन्। कुनै समयमा केही स्वास्थ्यसम्वन्धी समस्या परी आउला भनेर स्वास्थ्य बिमा गरेको, स्वास्थ्य बिमाले गरिवलाई राहत दिन्छ होला सोचेको र स्वास्थ्यमा केही समस्या आएपछि उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा उपचार गराउँदा स्वास्थ्य बिमा कम्पनीले दिने भनेका स्वास्थ्य सुविधा नदिएको नेपाल सरकारको स्वास्थ्य बिमाअन्तर्गत  कम्पनीले ठगेको जुम्ला पातारासी गाउँपालिका ७ की चैती बुढाले बताइन्।

‘गाउँ घरमा स्वंयसेवकले स्वास्थ्य बिमा गराएमा धेरै सुविधा पाइने भने पनि आखिर विमितलाई औषधि किन्न समेत बाहिर पठाउने गरेको छ।’ उनले भनिन्, ‘विरामी हुँदा उपचार खर्चमा सहज होला भनेर स्वास्थ्य बिमा गरेकी थिएँ। तर स्वास्थ्य बिमाले सस्तो औषधि मात्र दिन्छ, महँगो औषधि भने प्राइभेट मेडिकलबाट नै किन्नु परेको छ।’ 

नेपाल सरकारको नीतिअनुसार ३ हजारको बिमा गरेवापत बिमितले ६० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने व्यवस्था गरेको छ। तर, उपचार गराउँदा सरकारी स्वास्थ्य चौकीबाट निःशुल्क पाइने सिटामोलवाहेक अरू केही सुविधा नदिएको गुनासो जुम्ला पातारासी गाउँपालिका ७ कै होइजा सुनारले सुनाइन्। ‘स्वास्थ्य बिमाले गरिवको स्वास्थ्य उपचारमा पहुँच पुग्ने आशा गरेका थियौँ।’ उनले भनिन् ‘तर, उपचार गराउँन जाँदा सरकारले निःशुल्क दिने सिटामोल बाहेक अरू कुनै सुविधा पाएका छैनौं।’

सरकारले ६ हजार रुपैयाँको बिमा गरेवापत १ लाख २० हजारसम्मको उपचार खर्च स्वास्थ्य बिमाले तिर्ने व्यवस्था छ भन्दै कम्पनीका सयंसेवकले घरका सबै परिवारको स्वास्थ्य बिमा गराएको थिए। तर उपचार गर्न जाँदा सिटामोल दिने वाहेक अरू कुनै औषधि नदिएको र उपचार खर्चसमेत बिमा कम्पनीले नदिने गरेको जुम्ला चन्दननाथ ५ की जमुना सुनारले बताइन।

‘बिमाले पनि गरिब कै ढाड सेकेको छ।’ उनले भनिन्, ‘स्वास्थ्य विमितले स्वास्थ्य बिमा गरेवापत पाउनु पर्ने सुविधा दिनुहोस् भन्दा स्वास्थ्यकर्मीहरूले बिमा कम्पनीमा जानु भन्ने गरेकाछन्। गरिबलाई जता पनि ठग्नेवाहेक अरू गरेका छैनन्।’ 

स्वास्थ्य बिमा गर्दा ६० हजारसम्मको उपचार खर्च र ९ सय २८ प्रकारका औषधिको मूल्य बिमा कम्पनीले तिर्ने सर्तमा बिमा गराएको जुम्लाका स्वास्थ्य विमितहरूले अहिले कुनै औषधि उपचार नपाएको गुनासो गरेका छन्। 

बिमितले गाउँमा स्वास्थ्य बिमा गरेपछि सबै सुविधा पाइन्छ भनेर अहिले स्वास्थ्य उपचार गराउन आउने गरेको छन्। कर्णाली जस्तो ठाउँमा खाद्यान्न त समयमा पुर्‍याउन सकिन्नभने औषधि त झन समयमा पुर्‍याउन मस्किलै पर्ने बताउँछन्  मेडिकल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाइरेक्टर मिनराज बुढा। ‘कर्णाली जस्तो ठाउँमा खाद्यान्न त पुर्‍याउन सकिदैँन।’ बुढाले भने, ‘सोचे अनुसारको औषधि कहाँबाट पुर्‍याउन सकिन्छ।’

नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत  शिखर, सिद्धार्थ, प्रभु, नेपाल, युनाइटेड, नेस्नल लाइफ, एनबी, प्रिमियर, सगरमाथा र राष्ट्रिय बिमा कम्पनीले स्वास्थ्य बिमा गर्दै आएका छन्। नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम लमगु भएयता जुम्लामा ११ हजार १ जनाले बिमा गरेकाछन् भने २८ सय ६६ जना विमितले स्वास्थ्य बिमा गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.