|

कालीकोट : कर्णाली प्रदेशका उत्तरी नाकाका भन्सार कार्यालयमा कर्मचारीको अभाव भएको छ। कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्लाका तिब्बतसँग जोडिएका नाकाहरूका भन्सार कार्यालयमा कर्मचारीको अभाव भएको हो।

तिब्बती सीमानाकाको भन्सार कार्यालय वर्षाैंदेखि कर्मचारीविहीन र हुम्लाको हिल्सा, न्यारी, मुगुको नाक्चे लाग्ना, लुम्सलगायतका ठाउँमा रहेका भन्सार कार्यालयहरूमा साइनबोर्ड झुण्ड्याइएको भए पनि कर्मचारी नभएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

हुम्लाका हिल्सा, न्यारी, मुगुको नाक्चेलाग्ना र डोल्पाको डोलपोमा बैशाख महिनामा साइनबोर्ड झुण्ड्याउने गरेको भए पनि त्यसबाहेकका महिनामा नदिखिने गरेको स्थानीयको भनाइ छ। 

मुगुको लुम्स भन्सार कार्यालयमा बैशाख लागेपछि साइनबोर्ड तिब्बती सीमा मुगुगाउँमा देखिन्छ भने मंसिरपछि उक्त साइनबोर्ड लुम्स बगरको एक व्यापारीको घरबाहिर राख्ने गरिएको मुगु मुर्मारोव गाउँपालिकाका स्थानीय स्याम्बो लामाले बताए। ‘मौसमअनुसार कार्यालयको साइनबोर्ड फेरबदल हुन्छ’, उनले भने, ‘कर्मचारी भने कहिल्यै देखिँदैनन्।’

तिब्बत नाकातर्फ हुने अवैध व्यापार रोकथाम र राजश्व असुलीका निम्ति स्थापना गरिएका भन्सार कार्यालयहरूले कहिले कर्मचारी नुहने भएका कारणले राजश्व गुम्ने गरेको हुम्लाका पत्रकार नरञ्जन तामाङले बताए। ‘उत्तरी नाकामा यहाँका बासिन्दाको व्यापार हुने गरेको छ’, उनले भने, ‘भन्सारमा कर्मचारी नहुँदा वर्षाैंभरि राजश्व गुम्ने गरेको छ।’

कर्णालीका उत्तरी नाकामा भन्सार निष्क्रिय हुँदा सरकारलाई करोडौँ रुपैयाँ राजश्व घाटा भएको, भन्सारमा कर्मचारी नहुँदा तिब्बततिरको अवैध व्यापारमा वृद्धि भएको मुगु कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए। ‘कर्मचारीका अभावमा करोडौँ रुपैयाँ राजश्व गुमेको छ’, उनले भने, ‘भन्सार नभएको मौका छोपी व्यापारीले अवैध रूपमा जडिबुटी, नेपाली गाईलगायतका मालसामान तिब्बतमा पुर्‍याएर बिक्री गरेको पाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.