|

कालिकोट : नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको रारा तालमा घोडामा सयर गर्नेहरूको संख्या बढ्दै गएको छ। मुगुको ताल्चा विमानस्थलबाट रारासम्म जानका लागि दुइघण्टा लाग्ने भएकाले पर्यटकहरू घोडामा सयर गर्ने गरेका छन्। रारामा घोडा सयर गर्ने पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रमा घोडापालन गर्ने बढेका छन्।

रारा घुम्न आएका पर्यटकहरू घोडा चढेर रारा आसपासका क्षेत्रमा घुम्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले घोडा व्यवसायमार्फत राम्रो आम्दानी लिने गरेको स्थानीय नरबहादुर बुढाले बताए। ‘रारा घुम्न आउने पर्यटकको पहिलो रोजाइ घोडा हुने गरेको छ,’ उनले भने, ‘घोडाबाट अहिले यहाँका स्थानीयले राम्रो आम्दानी लिन थालेका छन्।’

रारा तालसम्म सडक सञ्जाल जोडिएको छैन। त्यसैले पर्यटकहरूले रारा तालसम्म पुग्न र त्यस क्षेत्रको पूर्णरुपमा अवलोकन गर्न मुर्मा टपसम्म पुग्न घोडाकाे प्रयोग गर्ने गरेका छन्। जसका कारण छायाँनाथ रारा नगरपालिका–८ झ्यारी, मुर्मा गाउँका प्रत्येक घरमा घोडा पालिएको छ। 

घोडापालक स्थानीय पर्यटकलाई घोडामा घुमाउन बिहान ६ देखि बेलुका ५ बजेसम्म घोडासहित उपस्थित हुने गरेको स्थानीय रामबहादुर बमले बताए। ‘घोडापालकहरू बिहान नै पर्यटक घुमाउन घोडासहित उपस्थित हुने गरेका छन्,’ उनले भने, ‘यहाँ घोडा नहुने घर नै छैनन्।’

यहाँ घोडा चढेर रारा तालमा फोटो खिचेको २००, वरपर घुमेको ५००, ताल्चा एयरपोर्टदेखि रारा तालको हुटु व्यारेकसम्मका लागि २ हजारदेखि २ हजार ५०० रुपैयाँसम्म शुल्क लिने गरेका छन्। हुटु व्यारेकदेखि मुर्मा टपसम्मका लागि दुई हजार र रारा तालको वरिपरि घुमाएको २ हजार ५०० रुपैयाँ लिने गरेका छन्।

पर्यटकलाई घोडामा घुमाएबापत  घोडापालकहरुले दैनिक चारदेखि पाँच हजार रुपैयाँसम्म अाम्दानी गर्दै अाएका छन्। घोडालाई दाना, घाँस, आफ्नो खर्च छुट्याएर मासिक २० देखि २५ हजार रुपैयाँ बचत गर्ने गरेको मुर्मा गाउँका रणबहादुर रोकायाले बताए। ‘पहिले रारा नजिकै भए पनि केही कमाइ नहुने रहेछ भनेर चिन्तित थियौं,’ उनले भने, ‘घोडा व्यवसाय फस्टाएपछि राम्रो आम्दानी भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.