|

कालिकोट : पश्चिमी नेपालका हिमाली जिल्ला हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलामा पाइने जंगली काठबाट बनाइने भाँडा फुरु (कचौरा)को माग तिब्बतमा बढेको छ। चीनमा काठको भाँडाको माग उच्च रहेकाले माग बढेको हो।

तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइने काठको भाँडालाई फुरु भनिन्छ। फुरुलाई तिब्बतमा कपका रुपमा प्रयोग गरिन्छ। फुरुलाई हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका तामाङ र लामा समुदायका मानिसले तिब्बतमा लगेर बिक्री गर्दै आएका छन्। 

चिनको हिल्सा, ताक्लाकोटलगायतका ठाउँमा फुरुको माग उच्च रहेको छ। एउटा फुरु पाँचदेखि १५ हजार रुपैयाँसम्म बिक्री हुने व्यापारी कल्पना तामाङले बताइन्। कल्पनाका अनुसार तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा फुरुको प्रयोग हुन्छ।

यस क्षेत्रका नेपालीहरुले आफूहरूले उत्पादन गरेको कृषि, हस्तकला र पशुजन्य उत्पादनलाई तिब्बती बजारमा लिएर बेच्ने गरेको हुम्ला, सिमिकोट गाउँपालिका स्थानीय ग्याल्बो लामाले बताए। ‘तिब्बतमा फुरुको ब्यापार राम्रो छ,’ उनले भने, ‘हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर ताक्लाकोट नजिकै पर्छ । त्यहाँ फुरुको धेरै ब्यापार हुने गरेको छ।’ 

पहिला नेपालबाट तिब्बती बजारमा फुरु निर्यात गर्न अप्ठ्यारो थियो। तिब्बत सरकारले नेपाली हस्तकलाका सामानमा भन्सार तिर्न नपर्ने प्रावधान बनाएपछि यसको निर्यात बढेको नेपाल–चीन उद्योग व्यापार संघका सचिव मैहीमान तामाङले बताए। ‘वार्षिक करोडौं रुपैयाँको फुरु नेपालबाट तिब्बततर्फ निकासी भइरहेको छ।’ उनले भने, ‘यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायतका जडिबुटी पनि ठूलो मात्रामा निकासी हुने गरेको छ।’

यस्तै, निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानीलगायतका सामान पनि चौरी, भेंडा र खच्चडमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको बझाङ काँडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। अध्यक्ष धामीले भने, ‘बझाङ, दार्चुला र मुगुका बासिन्दाले समेत तिब्बततर्फ होजियारी, नेपाली गलैंचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोटलगायतका तिब्बती बजारमा बिक्री गर्दै आएका छन्।’

नेपाली सामग्रीहरु हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्ज्याङ नाका हुँदै तिब्बतका बजारहरुमा पुग्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.