|

कालिकोट : नरहरिनाथ र महावै गाउँपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रण गरेको छ। दुवै गाउँपालिकाले विकासे बजेटमा अनियमितता गरेको भन्दै अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले कागजात नियन्त्रण गरेको हो।

स्थानीय तह गठन भएपछि कार्यविधि विपरित कामकाज गरेको भन्दै अख्तियारले गाउँ कार्यपालिका सबै कागजपत्र नियन्त्रण गरेको महावै गाउँपालिकाका कार्यकारी अधिकृत नन्दप्रसाद पाण्डेले बताए। ‘गाउँ कार्यपालिकाका सबै कागजपत्र अख्तियारले लगेको छ।’ उनले भने, ‘अख्तियारले गाउँपालिकाले अनियमिता गरेको आशंका कागजात नियन्त्रण गरेको हो।’

त्यस्तै, नरहरिनाथ गाउँपालिकाले पनि कार्यालय व्यवस्थापनलगायतका विकासे योजनाको रकम अनियमिता गरेको भन्दै सबै कागजपत्र नियन्त्रण गरेको छ।

प्रतिनिधिविरुद्ध एमाले–माओवादी

महावै गाउँपालिकाका जनप्रतिनिधिहरूले करोडौं रुपैयाँ भष्ट्राचार गरेको एमाले र माओवादी केन्द्रले आरोप लगाएको छ। गाउँपालिका व्यवस्थापन खर्च, स्थानीय सडक निर्माणलगायतका विकासे योजना, सामाजिक सुरक्षा भत्तामा स्थानीय तहका जनप्रतिनिधिहरूले करोडौं भष्ट्रचार गरेको एमाले–माओवादीको भनाइ छ।

स्थानीय ऐन विपरीत विभिन्न शीर्षकका खर्चमा गाउँपालिका पदाधिकारीले भष्ट्राचार गरेको माओवादी केन्द्र महावै गाउँपालिका इन्चार्ज सर्पराज सिंहको आरोप छ। उनले भने, ‘जनप्रतिनिधिले मनोमानी खर्च गर्ने क्रम बढेको छ।’

एमाले जिल्ला कमिटिका सचिव चित्र सिंहले पनि महावै गाउँपालिकामा पदाधिकारीहरूले आफुखुसी खर्च गर्ने काम तीव्र पारेको बताउँछन्। उनले भने, ‘अनुदानको बजेट जथाभावी बाँड्ने क्रम बढेको छ।’

४० लाख भ्रमण खर्च!

महावै गाउँपालिकाले अवलोकन भ्रमण खर्च भनेर ४० लाख रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले विकासे अनुदानको बजेटबाट अवलोकन भ्रमण खर्च छुट्याएको हो।

गाउँ कार्यपालिकाको निर्णयले अवलोकन भ्रमण खर्च विनियोजन गरेको महावै गाउँपालिकाका लेखापाल तिर्थबहादुर सिंहले बताए। ‘४० लाख रुपैयाँ अवलोकन भ्रमण खर्च छुट्याइएको छ,’ उनले भने, ‘तर खर्च भने भएको छैन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.