|

काठमाडौं : प्रहरीभित्रको सामान्य नियम हो, राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने। तर महानगरीय प्रहरी वृत्त दरबारमार्गका ड्युटी अधिकृतले भने मादक प्रदार्थ सेवन गरेर होहल्ला गरेको अभियोगमा एक युवालाई पक्राउ गरेवापत कारवाही भोग्नुपरेको छ।

घटना शनिबार बिहानको हो। दरबारमार्ग प्रहरीले नियमित अपरेसनकै क्रममा शनिबार बिहान १ बजे ठमेलस्थित संचय कोष भवन अगाडि मादक पदार्थ सेवन गरी ट्याक्सी चालकसँग विवाद गर्दैगर्दा केही युवा र तेस्रो लिंगीलाई सम्झाउन खोज्दा प्रहरीमाथि नै हातपात गर्ने युवालाई पक्राउ गर्‍यो।

पक्राउ गर्दासम्म प्रहरीलाई थाहा थिएन, २५ वर्षे ती युवा प्रदेश ४ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक कमलसिंह बमका छोरा सुगमसिंह बम हुन् भन्ने। जब प्रहरीले उनलाई समान्य बल प्रयोग गरी प्रहरीको भ्यानमा राख्यो, तब सुगमले भन्न थाले, 'म एआइजी कमलसिंह बमको छोरो हुँ। तिमीहरू जस्ता चार पाँच जान त मेरो घरमा खाना बनाउँछन्। तिमीहरूको जागिर भोलि खाइदिन्छु।' यसो भन्दै उनले प्रहरीमाथि नै हातपात गर्न थाले।

प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा ल्यायो। त्यति गर्दासम्म प्रहरीले त्याएका थिएनन्। एआइजीको छोरो हुँ भन्ने उनी मादक पदार्थ सेवनले लठ्ठ परेका थिए। वृत्तमा पुग्दा पत्तो लाग्यो, उनी एआइजीकै छोरा रहेछन्। तर प्रहरीले उनलाई छाडेन। उनको अरू अभियुक्तको जस्तै मेडिकल परीक्षण गरेर थुनामा राख्यो। तर मुद्दा चलाएन। त्यसको साटो सुगमकी आमा महिमा बमको रोहवरमा शनिबार नै उनलाई प्रहरीले छाडिदियो।

आइतबार हुँदा भने घटनाले अर्कै मोड लियो। सुगमकी आमा महिमा बमले आफ्नो छोरालाई प्रहरीले कुटपिट गर्‍यो भन्दै उजुरी छानविन शाखामा उजुरी दिइन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल शाह र प्रहरी प्रधानकार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक केदार रिमालको नेतृत्वमा छानविन समिति गठन गरेर घटनाको अध्यन सुरु गरिएको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका एक प्रहरी अधिकृतले भने, 'हामीले मध्यराती सडकमा होहल्ला गर्दैगर्दा सम्झाउन खोज्दासमेत प्रहरीमाथि नै हातपात गर्ने युवालाई पक्राउ गर्दा आफैँमाथि छानविन हुन्छ, अब काम कसरी गर्ने?' ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय हुने र सामान्य नागरिकदेखि भिआइपीसम्म आउने तर भिआइपी हुँ भन्दैमा जे गर्न पनि छुट हुने उनको गुनासो छ। 'त्यस्तो हो भने हामीले किन प्रहरीको बर्दी लगाएर रातभर सुरुक्षाका लागि खटिनुपर्‍यो?', उनले भने।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले भने यस घटनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.